NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

खानेपानी मन्त्री मणि थापा र नेकपा विप्लवका नेता हेमन्तप्रकाश ओलीबीच भेट [भिडियाेसहित]

खानेपानी मन्त्री मणि थापा र नख्खु कारागारमा बन्दी रहेका नेकपा विप्लवका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुर्दशन’ बीच भेटवार्ता भएको छ । आज विहान साढे १० बजे मन्त्री थापा र नेता ओलीबीच नख्खु कारागारमा भेट भएको हो । खानेपानीको व्यवस्था र सरसफाईको अवस्था बुझ्न थापा नख्खु कारागार पुगेका थिए । यही मेसोमा थापाले नेता ओलीलाई भेटेका हुन् । ओलीलाई प्रहरीले ९ चैत्र ०७५ मा काभ्रेबाट पक्राउ गरेका थियो । पक्राउ पर्दा ओली मध्य केन्द्रीय कमाण्ड इन्चार्ज र पार्टी स्कुलिङ विभाग प्रमुख थिए । माघ अन्तिम साता ०७५ मा सरकारले विप्लव समुहको नेकपामाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । यसपछि ओलीलगायत नेताहरु भूमीगत भएका थिए । भूमिगत भएपछि पक्राउ पर्ने विप्लव नेकपाका उपल्लो तहका नेता ओली नै थिए । ओलीलाई नख्खु नजिकै रहेको एनसेलको कार्यालयमा भएको बम विष्फोटनलगायत देशैभरीका विष्फोटन, आगजनीका घटनामा मुछेर सरकारले मुद्दा चलाएको छ । नेता ओलीकी जीवनसाथी अम्बिकाका अनुसार एनसेलको विष्फोटनको मुद्दामा भने ओलीले उच्च अदालतबाट सफाई पाइसकेका छन् । तर, नेपालगञ्ज, कैलाली, रोल्पा, भोजपुरलगायत जिल्लामा भएका विष्फोटमा समेत मुछेर ओलीलाई पुपक्र्षमा राखिएको उनको भनाइ छ । प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट नेकपा विभाजन भएपछि सरकारले केही दिन अघिबाट नेकपा विप्लवप्रति नरम हुने लक्षण देखाएको छ । विप्लवलाई लगाएको प्रतिवन्ध फुकुवा गर्ने तयारी भइरहेको चर्चा समेत चलिरहेको छ । यही मेसोमा मन्त्री थापा र ओलीबीच भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । मन्त्री थापा र नेता ओली जनयुद्ध सुरु नहुँदै देखिका सहकर्मी हुन् । जनयुद्धमा पनि उनीहरू सँगै थिए । ओलीको कार्यक्षेत्र पश्चिम कमाण्डमा थियो भने थापा अधिकाशं समय पूर्वमा हेलिएका थिए । मन्त्री नहुँदै पनि थापाले ओलीलाई कारागारमा पुगेर भेटेका थिए ।