NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

प्रचण्ड भन्छन्– याे जनताकै आन्दोलन हो

काठमाडौं । देशव्यापी रुपमा आम हडतालको घोषणा गरेको नेकपाका अध्यक्ष प्रचण्डले आफ्नो समूहले गरेको आन्दोलन जनताकै लागि भएको जिकिर गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरि आम हडतालको घोषणा गरेको प्रचण्ड–नेपाल समूहले देशव्यापी रुपमा प्रदर्शन गरिरहेको छ, जसमा विभिन्न ठाउँमा तोडफोड र आगजनीसम्मका घटना भएका छन् । बिहीबार बिहान काठमाडौंमै गोंगबुमा ट्याक्सीमा आगजनी, टाटासुमोमा तोडफोड, मित्रपात्रमा बसमा तोडफोड लगायतका घटनाहरु भएका छन् । प्रचण्ड–नेपाल समूहले आयोजना गरेको आम हडतालकै क्रममा उनकै पार्टीका कार्यकर्ताहरुले यी तोडफोड तथा आगजनी गरेको महानगरिय प्रहरी परिसर, काठमाडौंले बताएको छ । यता कार्यकर्तासँगै सडकमा आइ हडतालमा सहभागी भएका प्रचण्डले भने यो आन्दोलन जनताकै भएको जिकिर गरेका छन् । सातदोबाटोबाट आम हडतालमा सहभागी भएका प्रचण्डले भने, ‘हामीलाई बन्द हडताल गर्न रहर थिएन । तर, जनताकै लागि आन्दोलन गर्नुपर्ने बाध्यता आयो । संविधान मिचेर झन्डै झन्डै जंगलवाद चलाउन खोजिएको बेला जनताको अधिकार र लोकतन्त्रकै लागि हामीले यो आन्दोलन गरिरहेका छौं ।’ प्रचण्डले यो आन्दोलन जनताकै भएकाले जनताले आफूलाई साथ दिने विश्वास समेत व्यक्त गरेका छन् । उनले भने, ‘हामीले अहिले संविधान मिचेको कदमको प्रतिवाद गरेन भने ७० वर्षसम्म लडेर ल्याएको संविधान र लोकतन्त्र खेर जान्छ । हामी जनताकै लागि आन्दोलन गरेका हौं । आन्दोलन जनताको निम्ति अधिकार स्थापना गर्न हो । त्यसैले हामीलाई जनताले साथ दिन्छन् भन्ने थाहा छ । प्रचण्डले आफ्नो समूहले गरेको आन्दोलन यता सर्वसाधारण र आम जनताले भने फेरि देशमा बन्द र हडताल भएर सास्ती भएको बताइरहेका छन् । सामाजिक सञ्जालमा प्रचण्ड–नेपाल समूहले गरेको बन्दको विरोध समेत भइरहेको छ ।