NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

आफैंले गरेको आमहड्तालमा प्रचण्ड ल्याण्डक्रुजर गाडीमा, माधव नेपाल स्कुटरमा [भिडियोसहित]

काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडौंमा पनि परेको छ । बिहीबार बिहानैदेखि काठमाडौं ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारी साधन बाहेक सार्वजनिक यातायातका साधन ठप्प प्रायः बने । तर, भित्री सडकमा पनि सवारीसाधन निर्वाध गुडेका थिए । चारपाङग्रे सवारी साधन भन्दा बढी दुई पाङग्रे सवारी साधन सञ्चालन भएका छन् । खाद्यान्न लगायतका बजार पसल आंशिक खुलेका छन् । बन्द आव्हानकर्ताहरुले बिहानै देखि चोक चोकमा बसेर बन्द सफल बनाउन प्रर्दशन उत्रिएका छन् । बन्द सफल पार्न भन्दै नेकपाका शीर्ष नेताहरु नै सडकमा ओर्लिएका छन् । नेता पुष्पकमल दाहाल प्रचण्ड पनि सडकमा आए । देशव्यापी आमहड्ताल आव्हान गरेका प्रचण्ड भने आफैंले गरेको बन्दको अवज्ञा गर्दै बा १७ च ३० ७१ को ल्याण्डक्रुजर गाडी चढेर हामहड्ताल गराउन ललितपुरको पुलचोक पुगेका थिए । गाडीबाट ओर्लिएर उनी पुलचोकको बीचसडकमा केही समय पलेटी कसेर बसे । अब संयुक्त आन्दोलन फागुनबाट गर्ने पनि बताए । त्यसपछि उनी गाडी चढेर आफ्नो निवास खुमलटारतर्फ लागे । गाडी चढेर कार्यक्रम स्थल पुगेका नेता प्रचण्डले सडकमा नै बसेर बन्दकर्ताको नेतृत्व गरेका थिए । उनीसँगै नेतृ पम्फा भुसाल लगायतका नेता कार्यकर्ताहरु पनि सहभागी थिए । नेकपाकै अर्का अध्यक्ष माधवकुमार नेपाल भने स्कुटरमा चढेर बन्दको अवलोकन गर्न निस्किएका छन् । नेता नेपाल स्कुटरमा पछाडि बसेर बन्दको अवलोकन गर्न कोटेश्वरबाट निस्एिका हुन् । संविधान, गणतन्त्र, संघीयता, समावेशीता केहीमा पनि प्रधानमन्त्री केपी ओलीमा अपनत्ववोध बोध नभएको आरोप नेपालले लगाएका छन् । बिहानै प्रहरीले कलंकी चोकबाट नेतृ अष्टलक्ष्मी शाक्य सहितका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएपछि कार्यकर्ताहरुले विभिन्न स्थानबाट जुलुस सहित प्रदर्शन गरेका थिए । चावहिल चोक बाट बिहान प्रहरीले कृष्ण केसी लगायतका नेता कार्यकर्ताहरु नियन्त्रणमा लिएको छ । हामहड्ताल सफल बनाउन प्रचण्ड माधव समूहले काठमाण्डौका प्रमुख स्थानका लागि कमाण्डर नै तोकेका थिए । युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कलंकी, बेदुराम भुसाल बल्खु, देव गुरुङ सातदोबाटो, लीलामणि पोखरेल कोटेश्वर, हरिबोल गजुरेल र बर्षमान पुन चावहिल, शक्ति बस्नेत महारागञ्ज, भीम रावल गोंगबु, रघुजी पन्त बालाजु, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा रत्नपार्क र पम्फा भुसाललाई पुल्चोकको कमाण्डरको जिम्मेवारी दिईएको थियो । उनीहरुकै नेतृत्वमा कार्यकर्ताहरु बन्द सफल बनाउन सडकमा निस्किएका थिए ।