NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

प्रचण्डले गाडी र माधव नेपालले बाइकबाट रमिता हेर्दै हिंडे

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले बन्द र हड्तालका नाममा प्रचण्ड–माधव नेपालले जनतालाई दुःख दिएको बताएका छन् । किसान महासंघको कार्यक्रममा ओलीले एउटा गाडी चढ्ने र अर्को बाइक चढ्ने भन्दै जनताले पाएको दुःखमा रमिता हेरेको टिप्पणी गरेका हुन् । ‘उहाँहरुले अरूका गाडी जलाउनुभयो। आफू गाडीमा सयर भएर तमासा हेर्दै हिँड्नुभएको छ ।जनताले कति दुःख पाएका छन् । तर, उहाँ गाडी चढेर तमासा हेर्दै हिँड्नुभयो’ ओलीले भने, ‘अर्को (माधव नेपाल) गाडी चढ्न अलिक भएन आफैंले बन्द गरेको भनेर गाडी त अलिक ठूलो भयो गाडी भनेर बाइक लिएर हिंडे । जनताले कति दुःख पाए भनेर रमिता हेर्दै हिँड्नुभयो।’ तीन करोडमा दुई चार जनाले छोडेपछि पार्टी शुद्धिकरण भयो प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले दुई चार जनाले छोडेपछि पार्टी शुद्धिकरण भएको बताएका छन् । तीन करोड नागरिक भएको देशमा दुई चार जनाले छोड्दा केही नहुने भन्दै उनले बरु पार्टीमा शुद्धिकरण र संगठनमा सुदृढीकरण आउने जिकिर गरे । ‘यसपल्ट हामीले नयाँ कीर्तिमान कायम गर्नुपर्छ । मै हुँ भन्नेले पार्टी छोड्दैमा काम हुँदैन भन्ने होइन पार्टी आचरणको हिसाबले शुद्धिकरण भएर जान्छ । संगठनको हिसाबले सुदृढीकरण भएर जान्छ’ किसान महासंघको भेलामा ओलीले भने, ‘तीन करोड मान्छेमा दुई चारजना जाँदैमा केही हुँदैन । हामी जित्न सक्छौं । जित्नुपर्छ ।’ आन्दोलनलाई एकजुट बनाएर लाने उनको भनाई थियो । हड्तालको नाममा प्रचण्ड समूहले किसानका टमाटर, सब्जी, मूला सडकमा फालेको भन्दै ओलीले आपत्ति जनाए । ‘उहाँहरु आफैंले फालेको हो की कार्यकर्ताले फालेको हो ?’ ओलीले भने, ‘उहाँहरुको आन्दोलनले फालेको हो । अब यसरी धाक धम्की लगाउने । कानूनको पालना गर्दिन भन्न पाइदैन ।’ संविधान र कानुन मान्दिन भनेर उपद्रो मच्याउने, अदालत र निर्वाचन आयोगलाई धम्क्याउनेको दिन गएकोसमेत उनले बताए ।