NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप प्रभावकारी छ, ढुक्कले लगाउनुस् : विज्ञ

काठमाडौं । कोभिड–१९ कोरोना भाइरसविरुद्ध नेपालमा दिइएको कोभिशिल्ड खोप प्रभावकारी भएकाले आम समुदायसम्म पुर्‌याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले काठमाडौंमा आयोजना गरेको कोभिड–१९ को महामारी र कोभिडविरुद्ध खोपको प्रभावकारिता विषयक अन्तरक्रियामा बोल्दै विज्ञहरुले कोभिशिल्ड खोप प्रभावकारी भएको भन्दै यसलाई आम मानिसहरुसम्म पुर्‌याउनुपर्नेमा जोड दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोभिशिल्ड खोपबाट नडराई सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप खोप लिन आग्रह गरे । सरकारले प्रतिबद्धता गरेभन्दा एक महिना अगाडि नै खोप अभियान शुरु गर्नु सरकारको सफलता भएको उनको भनाई छ । खोप विज्ञ डा. श्याम राज उप्रेतीले अध्ययनले कोभिशिल्ड खोप ७० प्रतिशतभन्दा बढी प्रभावकारी भएको बताए । कोभिशिल्ड खोप लगाईसकेपछि कोरोना लागेपनि मृत्यु कम हुने, अस्पताल जानुपर्ने अवस्था नआउने तथा सिकिस्त बिरामी नपर्ने उनको भनाई छ । भ्याक्सिन लगाएमा कोरोनाको संक्रमण भए पनि रोग जटिल नहुने उनले प्रष्ट्याए । खोपले व्यक्तिलाई कोरोना संक्रमणबाट बचाएपनि अर्को ब्यक्तिलाई सार्नसक्ने क्षमता भने रहने भएकाले खोप लगाए पनि जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्नेमा उनले जोड दिए । खोप विज्ञ उप्रेतीले १८ वर्ष मुनिका बालबालिकामा परीक्षण हुँदै गरेकाले अहिले खोप नदिईने बताए । गर्भवती महिला र खोपको पहिलो चरण लगाउँदा सिकिस्त बिरामी परेकाहरुलाई पनि खोप नदिने जानकारी दिए । त्यसैगरी, उच्च ज्वरो हुँदा, रगत पातलो हुने औषधिको प्रयोग भइरहेको छ भने पनि कोभिशिल्डको प्रयोग गर्नु नुहुने विज्ञ उप्रेतीले बताए । पहिले दुध खुवाईरहेकी आमालाई खोप प्रयोग नगर्ने भनिएको भएपनि अब दुध खुवाईरहेकी आमालाई खोप दिन सकिने उनले बताए । खोप लगाइसकेपछि कति समयसम्म प्रभावकारी हुन्छ भन्ने अध्ययन भइरहेको विज्ञहरुको भनाई छ । बेलायत र दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ प्रकृतिको भाइरस विरुद्धमा पनि कोभिशिल्डले केही प्रभावकारीता देखाएको विज्ञहरुको भनाई छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बास्तोलाले कोभिशिल्ड खोपले रोग प्रतिरोधात्मक क्षमता र रोग प्रतिरोधात्मक एन्टीबडी बढाउने बताए । खोपले शरिरमा रोग प्रतिरोधात्मक क्षमता लामो समयसम्म बस्न सक्ने अवस्था रहेको जानकारी दिए । आगामी दिनमा कोरोना भाइरसविरुद्धको खोप प्रत्येक वर्ष लगाउनुपर्ने अवस्था पनि आउनसक्ने उनको भनाई छ । खोप लगाएपछि साधारण असर देखापर्ने भन्दै उनले असर देखिएको अवस्थामा पारा सिटामोल तथा झोलिलो पदार्थहरु खान सुझाव समेत दिए । ५७ दिनसम्म असर देखा परेमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नपर्ने उनको भनाई छ । कोरोना संक्रमणबाट निको भएकाहरुले पनि खोप लगाउँदा झनै फाइदा पुग्ने उनले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले कोरोना विरुद्धको अरु खोप ल्याउन सरकार कटिबद्ध रहेको बताए ।