NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

संसद पुन:स्थापनाको पक्षमा एक शब्द नबोलेका देउवाले भने : अदालतको फैसलाको स्वागत गर्छु

५ पुसमा प्रतिनिधिसभा विघटनपछि पुनस्थापनाबारे अहिलेसम्म एक शब्द पनि नबोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनस्थापना गरेपछि अदालतको फैसलालाई सम्मान गर्ने बताएका छन् । सभा विघटनको बदर गर्ने अदालतको फैसला आएपछि विज्ञप्ति जारी गर्दै देउवाले फैसलाको स्वागत गरेका हुन् । ‘सर्वोच्चको फैसलालाई हार्दिक स्वागत । प्रतिनिधि सभा विघटनको विषय बारे सर्वोच्च अदालतमा परेको मुद्दामा आज सम्मानीत अदालतबाट फैसला भएको छ । २०७७ साल पुस ५ गते प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको थियो ।’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दवाव दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएको थियो । नेपाली कांग्रेस विघटित प्रतिनिधि सभा पुनस्र्थापना हुने गरी सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ ।’