NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पार्टी केन्द्रीय कार्यालय धुम्बारहीमा एमालेको साइनबोर्ड राखिने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पहिलेकै अवस्थामा ब्यूँताएपछि साविक एमालेले पार्टीको केन्द्रीय कार्यालय धुम्बारहीमा एमालेकै साइनबोर्ड राख्ने भएको छ । साविक एमालेले आफ्नो पार्टी कार्यालय दाबी गर्दै धुम्बारहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा भोलि (सोमबार) ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले)’ लेखिएको साइन बोर्ड लगाउने भएको छ । सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएपछि साविक एमालेले पार्टी कार्यालयबाट निवर्तमान नेकपाको साएनबोर्ड हटाउने भएको हो । यता माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो । धुम्बाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड मंगलबार फेरिने भएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । ‘सर्वोच्चको आदेश कार्यान्वयनका लागि हामी भोलिदेखि पार्टीको कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गर्ने तयारीमा रहेका छौं’, उनले भने, ‘मुख्यालयमा पर्सिसम्म एमाले नाम परिवर्तन गरिसक्छौं। जिल्लास्तरमा पनि एमालेको कार्यालयका भएको भवन एमाले कार्यालय रहन्छ ।’ उनले जिल्लामा अहिले नै कार्यालयको नाम परिवर्तन गर्न निर्देशन नदिएको भन्दै तर सर्वोच्चको फैसलापछि जिल्लास्थित पहिलेको एमाले कार्यालयमा धमाधम साइनबोर्ड फेरिन थालेको बताए । ०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गठन भएको थियो । तर त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको हो ।