NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद आज छुट्दै

४० वर्षदेखि भारतीय जेलमा बन्दी जीवन बिताइरहेका इलामका दीपक जैसी भनिने दुर्गाप्रसाद तिम्सिनालाई आज जेलमुक्त गरिँदै छ । बुधबार साँझ कोलकाता उच्च अदालतले तिम्सिनालाई रिहा गर्न आदेश दिएको थियो । भाइ (काकाका छोरा) प्रकाशचन्द्र तिम्सिनाको रोहबरमा छाड्न अदलातले आदेश दिएकोले दाइलाई लिन उनी बिहीबार नै कोलकाता पुगिसकेका छन् । शुक्रबार कोलकाता सेन्ट्रल जेलले सबै कानुनी प्रक्रिया सकेर अदालत र नेपाली महावाणिज्य दूतावासका प्रतिनिधिको रोहबरमा तिम्सिनालाई छाड्नेछ। उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शनिबार नेपाल ल्याइने र पत्रकार सम्मेलन गरी परिवारको जिम्मा लगाउने तयारी गरिएको तिम्सिनाको रिहाइमा पहल गरिरहेको संस्था विश्व सेवा विस्तारले जनाएको छ । मुख्य न्यायाधीश थोट्टाथिल बी राधाकृष्णन र न्यायाधीश अनिरुद्ध रोयको इजलासले तिम्सिनालाई जेलमा राखिराख्दा न्याय सम्पादनको कुनै पनि सार्थक उद्देश्य पूरा नहुने भन्दै उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै छोड्ने आदेश दिइएको पनि फैसलामा उल्लेख छ । कोलकाता विश्वविद्यालयका चिकित्सकले अदालतमा पेश गरेका परीक्षण रिपोर्टका अनुसार तिम्सिनाको स्वास्थ्य अवस्था ९ वर्षको बालकको जस्तो छ । त्यसकारण पनि अदालतले फैसलामा तिम्सिनाको स्वास्थ्य अवस्थाबारे प्रत्येक ६/६ महिनामा नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउन भाइ प्रकाशलाई भनेको छ । त्यसपछि दूतावासले अदालतलाई सोबारे जानकारी दिनेछ । ४० वर्षदेखि सम्पर्कविहीन छोरो आउने भएपछि इलामको माई नगरपालिका–१० लुम्बाकस्थित घरमा रहेकी ८१ वर्षीया आमा धनमाया तिम्सिना खुसी छन् । परिवारको सदस्य फर्कने भएपछि तिम्सिना परिवार समेत खुसी छ । २०१७ साउनमा जन्मेका तिम्सिना २०३७ सालतिर तोरी बेच्न इलामको मंगलबारे गएका बेला परिवारलाई खबरै नगरी दार्जिलिङ भासिएका थिए । त्यहाँ रहँदा सन् १९८० मे ११ मा हत्या आरोपमा उनी जेल परे । दार्जिलिङकी जनु गुरुङको हत्या अभियोगमा उनका श्रीमान् नैने घलले किटानी जाहेरी दिएपछि तिम्सिना पक्राउ परेका थिए । तर जाहेरीपछि पीडक पक्ष प्रहरी कार्यालय र अदालत नपुगेकोले तिम्सिनालाई मनगढन्ते आरोप लगाएर फसाइएको परिवारको आरोप छ । गोर्खाल्यान्ड आन्दोलनका क्रममा उनलाई राखिएको जेलमा आन्दोलनकारीले आगो लगाइदिएपछि उनी सम्बन्धित सबै कागजात पनि जलेका बताइएको छ । जसका कारण उनीमाथिको सुनवाइमा विलम्ब भएको हो । उनको मानसिक अवस्थामा समेत ह्रास आउँदै गएको भन्दै उनलाई सन् २००५ मा दार्जिलिङबाट अलिपुरद्धार जेल हुँदै कोलकाता सेन्ट्रल जेल लगिएको थियो । उनीसँगै कारगारमा १० वर्ष बिताएका भारतीय नागरिक राधेश्याम दास गत अस‍ोजमा छुटेपछि मात्र तिम्सिनाबारे खबर बाहिर आएको हो । त्यसपछि स्थानीय वेस्ट बंगाल रेडियो क्लब, कोलकातास्थित नेपाली महावाणिज्य दूतावास, पूर्वन्यायाधीश विदुरविक्रम थापा, वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल, विश्व सेवा विस्तार नामक गैरसरकारी संस्थालगायतले उनको रिहाइमा पहल गर्दै आएका थिए । सम्बन्धित समाचार :४० वर्ष अघि बेपत्ता नेपाली ‘नाटकीय रुपमा’ भारतमा भेटिए४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसादलाई छाड्न आदेश