NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

नवीन्द्रराज जोशीको परिवारले किन अस्वीकार गर्‍याे सरकारले दिएको १० लाख उपचार खर्च ?

काठमाडौं: १३ फागुन राति मष्तिष्कघात भएपछि कांग्रेस नेता एवं पूर्व मन्त्री नवीन्द्रराज जोशी यतिखेर थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारतरत छन् । स्वास्थ्य अवस्था जटिल रहेका जोशीको भेन्टिलेटरमा उपचार भइरहेको छ । उनै जोशीको उपचारको लागि सरकारले गत शुक्रबार १० लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेकाे थियो । ‘१३ फागुनमा रातीदेखि स्वास्थ्यमा समस्या आएपछि उहाँको नियमित उपचार भइरहेको छ । सरकारले उहाँको सम्मानस्वरुप १० लाख रुपैयाँ आर्थिक सहयोग गर्यो । तर, परिवारले आर्थिक सहयोगमा सम्मान व्यक्त गरे पनि यसलाई नस्वीकार्ने निर्णय गरेको छ’ जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले नेपालवाचसँग भने । राज्यले गरेको सहयोग पर्याप्त नभएको भन्ने परिवारका सदस्यको भनाइका कारण सहयोग अस्वीकार गरिएको उनले बताए । उनले अघि भने, ‘लामो समय राजनीतिक जीवन बिताउनुभएको, मन्त्री भइसक्नुभएको, काठमाडौं महानगरपालिकाको नेतृत्व तहमा काम गर्नुभएका, सांसदको रुपमा जनतासँग प्रत्यक्ष जोडिने र नहुँदा पनि जनताको पीरपर्कासँग समन्वय गर्ने नेतलाई राज्यले सम्मान त गर्यो तर पर्याप्त भएन भन्ने परिवारको भनाइ हो । झारा टार्ने काम मात्रै भयो भनेर परिवारले अस्वीकार गर्ने निर्णय गरेको हो ।’ लामो समय उपचार गर्दा अहिलेसम्म २७ लाख रुपैयाँ खर्च भइसकेको जानकारी उनले दिए ।परिवारको चाहना अहिलेसम्म लागेको खर्च सरकारले बेहोरिदिओस् भन्ने रहेको उनले बताए । के छ स्वास्थ्य अवस्था ? १३ फागुनमा राती मष्तिस्कघात भएपछि बीचको एक हप्ताबाहेक जोशीको भेन्टिलेटरमा उपचार हुँदै आएको छ । उनको शरिरको देब्रे भाग पहिलो दिनदेखि नै नचल्ने भएको थियो । बीचमा उपचारको लागि भारत लाने तयारी भएको बेला उनको अवस्था झन् बिग्रन पुगेको जानकारी पाण्डेले दिए । ‘स्वास्थ्यमा थोरै सुधार आएपछि उपचारको लागि भारतको दिल्ली जाने कुरा थियो । तर, लाने भनिएको अघिल्लो दिनदिन उहाँको अवस्था झन् बिग्रिएपछि अस्पतालले पनि पठाउन मानेन’ पाण्डेले भने, ‘त्यसपछि उहाँको बारेमा नराम्रा हल्ला पनि भए । जसले परिवारलाई दुःखी बनायो ।’ भेन्टिलेटरमा रहेका जोशीको ब्रेनले काम गरिरहेको छैन । ब्लडप्रेसर र सुगर भने ठीकै रहेको छ ।