NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

काठमाडौं, ललितपुर र भक्तपुरका यी १० ठाउँमा आजबाट मेलम्चीको पानी आउँदै

काठमाडौं । बहुचर्चित र बहु अपेक्षित मेलम्चीको पानी आजबाट काठमाडौंका धारामा झर्दैछ । काकाकुल काठमाठौंकाे प्यास मेटाउन प्रभावकारी मानिएको मेलम्ची आयोजनाबाट आइतबार चार करोड लिटर पानी उपत्यकाका विभिन्न भागमा वितरण गर्न लागिएको हो । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट आइतबारदेखि थोक वितरण प्रणाली हुँदै घरघरमा पानी पुग्ने छ। मेलम्चीको सुरुङबाट पूर्ण क्षमतामा पानी ल्याएपछि दैनिक १७ करोड लिटर नै वितरण गर्ने तयारी छ । चार करोड लिटरबाट मेलम्चीको पानी वितरण सुरु भए पनि तीन हप्तापछि दैनिक १७ करोड लिटर पानी वितरण हुने तयारी छ । १० फागुनमा २७ किलोमिटर लामो मेलम्चीको सुरुङमा पानी हालिएको थियो । १२ दिनमा सुरुङ भरिएपछि प्रधानमन्त्री केपी ओलीले २२ फागुनमा आयोजनाको फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा जल प्रवाहको शुभारम्भ गरेका थिए। शुक्रबार वितरण केन्द्रमा पठाइएको पानी थोक वितरण प्रणाली पाइपलाइन ‘फ्लस’ गर्दै चाबहिलनजिक धोबीखोलामा खसालिएको थियो । यी ठाउँमा मेलम्चीको पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को पुरानो पाइप प्रणालीमा पानी वितरण सुरु हुन लागेको हो । यस्तो पानी काठमाडौं र ललितपुरका विभिन्न १० स्थानमा पुग्नेछ । जसमा मीनभवन, अनामनगर, आरुबारी, महांकाल, बाँसबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर, भक्तपुरको बोडे र ललितपुरको खुमलटारमा पानीट्यांकी बनाइएको छ। तर अनामनगर, महाँकाल, मिनभवन बाँसवारी, बालाजु, महाराजगञ्जमा भने पुरानै ट्याकींमार्फत घरघरमा पानी पठाइदैछ । आइतबार अनामनगर क्षेत्रमा रहेका १६ सय धारामा भने नयाँ वितरण लाइनमार्फत नै पानी वितरण हुँदैछ । ती क्षेत्रका धारामा २४ घण्टा नै पानी पठाएर लाइनको परीक्षण गरिदैछ । मेलम्चीको पानी वितरण गर्न यस अघि एक हजार एक सय किलोमिटर पाइप बिछ्याइसकिएको छ । अब १० किलोमिटर हाराहारीमा मात्रै पाइप बिछ्याउन बाँकी छ ।