NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

म्यान्माली सेनाको रवैयाप्रति वाइडेनको आपत्ति, नरसंहार रोक्न चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमा सुरक्षा बलद्वारा प्रदर्शनमा सहभागी नागरिकको हत्या गरिएको बारे आपत्ति प्रकट गरेका छन् । बाइडेनले भने, ‘यो भयावह नै हो । यस्तो कुकृत्य पूर्ण रुपमा क्रुरता हो । मलाई आएको जानकारी अनुसार सैयौंको संख्यामा निर्दोश नागरिक मारिएका छन् ।’ अमेरिक सदनको विदेश मामिला समितिका प्रमुख सांसद ग्रेगरी मिक्सले म्यानमारमा राष्ट्रिय सशस्त्र बल दिवसमा शनिबार एकसय भन्दा बढीको हत्या भएको घटनाबारे छानबिन चलिरहेको बताएका छन । साथै यांगुनमा रहेको अमेरिकी केन्द्रमा गोलाबारी भएकाले दुवै घटनाबारे छानबिन गरिरहेको उनको भनाइ छ । उनले भने, ‘बर्मेली सेनाले देशको राष्ट्रिय सशस्त्र बल दिवसमा गैरजिम्मेवारी पूर्ण ढंगले सैयौं निर्दोश नागरिकको ज्यान लिइएको छ । यो अवैध सैन्य तख्तापलटपछि सबैभन्दा बढी रक्तपात गरिएको टना हो ।’ म्यानमारमा लोकतन्त्र समर्थक प्रदर्शनकारीमाथि शनिबार भएको फायरिङमा एकसय १४ जना मारिएपछि विश्वभरबाट म्यान्माली सेनाको निन्दा गरिएको छ । विश्वका १२ देशका रक्षा प्रमुखले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनकारीमाथि गोली चलाउने निन्दनिय कार्य भएको बताएका छन् । रक्षा प्रमुखहरुले म्यानमारको सेनालाई आफ्नो रवैयामा सुधार गर्न र नागरिकको आवाज सुन्न माग गरेका छन् । समाचार एजेन्सी डिपिएका अनुसार अमेरिका, ब्रिटेन, जर्मनी, इटली, डेनमार्क, ग्रिस, नेदरल्याण्ड, क्यानडा, अस्ट्रेलिष, न्यूजिल्याण्ड, दक्षिण कोरिया र जापानले संयुक्त विज्ञप्ति जारी गर्दै म्यान्माली सेनाको रवैयाविरुद्ध विरोध जनाएका हुन् । यो बयान शनिबार विरोध प्रदर्शनमा भएकाे ११४ जनाको हत्यापछि जारी गरिएको हो । म्यानमारमा पछिल्लो महिना आनसान सू चीको निर्वाचित सरकारलाई अपदस्त गर्दै सेनाले सत्ता कब्जा गरेको थियो । सेनाको यो कदमविरुद्ध हजारौं नागरिक सडकमा उत्रिएका छन् । एजेन्सी