NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

अमेरिकाद्वारा म्यान्मारसँगको व्यापार सम्झौता स्थगन

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले लोकतान्त्रिक सरकार पुनर्वहाली नहुँदासम्म म्यान्मारसँगको व्यापार सम्झौता स्थगन गरेको छ । गत फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ता विद्रोह गरी शासनसत्ता आफ्नो हातमा लिनुका साथै लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि निर्ममतापूर्वक बल प्रयोग गरिरहेको छ । सेनाले निर्वाचित सरकारलाई विस्थापित गरेको छ भने नेतृ आङ सान सूकी र अन्य नेताहरुलाई नजरबन्दमा राखेको छ । अमेरिकी व्यापार प्रतिनिधि केथेरिन ताईले सोमबार जारी गरेको विज्ञप्तिमा ‘अमेरिकाले लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारको तत्काल पुनर्वहाली भएको हेर्न चाहन्छ’ भनिएको छ । अमेरिका बर्मेली सेनाले निहत्था नागरिकमाथि गरिरहेको हिंस्रक आक्रमणप्रति कडा शब्दमा निन्दा एवं भर्त्सना गर्दै विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण प्रदर्शनकारी, विद्यार्थी, कामदार, श्रमिक नेताहरु, स्वास्थ्यकर्मी, र बालबालिकाको हत्याले अन्तर्राष्ट्रिय समुदायलाई हतप्रभ बनाएको छ ।’ अमेरिकाले म्यान्मारसँग सन् २०१३ मा गरेको व्यापार तथा लगानी संरचना सम्झौतालाई तत्काल निलम्बन गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त सम्झौता बमोजिम दुई मुलुकले म्यान्मारको अर्थतन्त्रलाई विश्व व्यापारसँग एकीकृत गर्ने प्रयास स्वरुप व्यापार र लगानीका विषयमा सहकार्य हुँदै आएको छ । म्यान्मारको सेनाले लोकतान्त्रिक शासन व्यवस्थालाई समर्थन जनाएपछि उक्त सम्झौता गरिएको थियो । अमेरिका र बेलायतले म्यान्मारको सेनाको नियन्त्रणमा रहेका दुई ठूला व्यापारिक कम्पनीहरु म्यान्मार इकोनोमिक होल्डिङ्स लिमिटेड र म्यान्मार इकोनोमिक कर्पोरेसनमाथि प्रतिबन्ध लगाइसकेका छन् । ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले म्यान्मारको निर्यात व्यापारमा नियन्त्रण गर्न थालिएको र केही बर्मेली व्यवसायलाई कालोसूचीमा राखिएको जानकारी दिएका छन् । म्यान्मार र अमेरिकाबीचको व्यापार त्यति ठूलो भने छैन । गत वर्ष अमेरिकाले म्यान्मारतर्फ करिब ३३ करोड ८० लाख डलरको सामग्री निर्यात गरेको थियो भने करिब एक अर्ब डलर बराबरको आयात गरेको थियो । तर अमेरिका र अन्य विकसित मुलुकहरु म्यान्मारका तयारी पोशाकका प्रमुख खरिदकर्ता छन् । यी कारखानाहरु अधिकांश विदेशीले खोलेका छन् । यी कारखानाले गरिबीको चपेटामा परेको म्यान्मारमा लाखौंलाई रोजगारी उपलब्ध गराएका थिए । (रासस/एपी)