NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

प्रधानमन्त्रीलाई दिलेन्द्र बडूको प्रश्न : संसद्मा आउन पनि सुरक्षा थ्रेट बढेकै हो त ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लामो संसद् पुनःस्थापनापछि प्रधानमन्त्री ओली संसद्मा उपस्थित नहुनुले गम्भीर प्रश्न उठाएको छ । संसद्को विशेष समयमा बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले के कति कारणले प्रधानमन्त्री संसद्मा उपस्थित हुन नसकेको भन्दै जवाफ मागेका छन् । उनले प्रधानमन्त्री ओलीले आफूमाथि सुरक्षा थ्रेट रहेको भन्ने अभिव्यक्ति दिएकाले गृहमन्त्रालयसँग त्यसको जवाफ मागेका हुन् । ‘केही समयअगाडि प्रधानमन्त्री ओलीले आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बेला भौतिक आक्रमण हुन सक्ने अभिव्यक्ति दिनु भएको थियो,’ उनले भने, ‘उहाँलाई के–के सुरक्षा व्यवस्था थपिएको छ ? त्यसबारेमा संसदलाई जानकारी दिनु आवश्यक छ।’ बडूले प्रधानमन्त्री प्रतिनिधिसभामा नआएकोमा पनि आपत्ति जनाए । ‘प्रधानमन्त्री प्रतिनिधिसभाका यति धेरै बैठक हुँदा पनि किन आउनु भएन । कतै नआउनुको कारण सुरक्षा खतरा त होइन ?’, उनले भने । आजसहित संसदका ६ वटा बैठक बसिसक्दा पनि प्रधानमन्त्री नआएको भन्दै उनले नआउनुको कारण मागेका छन् । ‘संसद चलिरहेको छ तर आजसम्म प्रधानमन्त्री संसदभित्र देखिनु भएको छैन, कतै उहाँमाथि सुरक्षा खतरा कायमै रहेको हो र ? । उहाँले सुरक्षासँगै नैतिक खतरा पनि महसुस गरिरहनुभएको हो ?’ उनले प्रश्न गरे ।