नगरपालिकाको खेल मैदानबाट अवैध बालुवा उत्खनन
काठमाडौंः चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको खेल मैदानमा ठेक्दार कम्पनीले मापदण्ड विपरीत बालुवा उत्खनन गरिरहेको पाइएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ४ मा निर्माण हुन लागेको खेल मैदानमा ठेकेदार कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालिले मापदण्ड विपरीत बालुवा उत्खनन गरेको हो । ठेकेदार कम्पनीले नगरपालिकासँग भएको सम्झौता वितरीत जमिनको लेबलभन्दा करिब २५/३० फिट तल गएर बालुवा उत्खनन गरेको हो । करिब ९३ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको खेल मैदान २०७९ जेठ मसान्तसम्ममा निर्माण सम्पन्न गर्नेगरी २०७७ असार १७ गते आगन्जासँग सम्झौता भएको थियो । सो सम्झौता अनुसार ठेकेदार कम्पनीले जमिनको लेबलसम्म सम्याउने र त्यस क्रममा निस्किने माटो, बालुवा तथा अन्य निर्माण जन्य सामाग्रीको उत्खनन र बिक्रिवितरण गर्न पाउने गरी ८ करोड ६४ लाख रुपैयाँमा जिम्मा पाएको थियो । तर, नगरपालिकासँग भएको सम्झौता विपरित ठेकेदार कम्पनीले बालुवा उत्खनन् गरिरहेको स्थानीयले बताएका छन् । स्थानीयहरुले विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर र सो वरिपरि रहेका बस्ती समेत जोखिममा पर्ने गरी सरकारी सम्पत्तीको चोरी निकासी भइरेको आरोप लगाएका छन् । चाँगुनारायण नगरपालिकाले पनि ठेक्दार कम्पनी आगन्जाले यसअघि पनि बारम्बार मापदण्ड विपरीत बालुवा उत्खनन गरी बिक्री वितरण गर्दै आएको स्वीकार गरेको छ । नगरपालिकाका सूचना प्रविधि अधिकृत एवं सूचना अधिकारी सिद्धान्त न्यौपानेले एक महिना अघि पनि जिल्ला प्रशासन कार्यालय, भक्तपुरमार्फत उक्त कार्य रोक्न निर्देशन दिएको बताए । उनले सम्झौता भन्दा बाहेक गरिएका कार्य गैरकानूनी भएको भन्दै उक्त कार्य तत्काल रोक लगाउनेसमेत बताए । बिहीबार बिहान पनि ठेकेदार कम्पनीले करिब १० ठाउँमा जमिन भन्दा २५/३० फिट मुनि गएर बालुवा उत्खनन गरिरहेको थियो । तर स्थानीयको कडा विरोधपछि तत्काल ती स्थानमा डोजर लगाएर सम्याउने काम भएको थियो ।
ताजा अपडेट
-
एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर
-
सुनको मूल्य एकैदिन ६ हजार ५०० रुपैयाँले घट्यो
-
त्रिभुवन विमानस्थलबाट दुई चिनियाँ महिला सुनसहित पक्राउ
-
निवर्तमान आईजीपी कार्कीको रिट निरौलासहितको संयुक्त इजलासमा
-
लैंगिक हिंसाविरुद्ध एकजुट हुन मन्त्री बादीको आह्वान

प्रतिक्रिया