NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बालुवाटारबाट प्रधानमन्त्रीले गरे एकैसाथ १६५ रणनीतिक सडकको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले एकैसाथ १६५ रणनीतिक सडकको शिलान्यास गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारको सभाहलबाट उनले सडकको शिलान्यास गरेका हुन् । नेपालको पूर्वाधार विकासमा कोशेढुंगा मानिने निर्वाचन क्षेत्र रणनीतिक सडकको लागि एकीकृत रुपमा विकास गर्ने लक्ष्य राखेर सरकारले एकैसाथ शुभारम्भ गरेको हो । प्रत्येक निर्वाचन क्षेत्रमा एउटा रणनीतिक सडक छनोट गरी त्यसको दीर्घकालीन विकास गर्न लागिएको हो । शुभारम्भ कार्यक्रममा दुवै सदनका सांसदहरुको समेत सहभागिता छ । करिब ५७ अर्ब लागत अनुमान गरिएको यो परियोजना तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने मापदण्ड बनाइएको छ । एक निर्वाचन क्षेत्र भएका हिमाली जिल्लामा ६० करोड, एक निर्वाचन क्षेत्र भएका पहाडी जिल्लामा ५० करोड, दुई निर्वाचन भएका जिल्लामा ४० करोड, तीन निर्वाचन क्षेत्र भएका जिल्लामा २५ करोड र काठमाडौंमा २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । दुई लेनको निर्माण हुने सडकको कूल लम्बाई दुई हजार दुईसय १० किलोटिमर कालोपत्रे हुने बताएको छ ।