NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रधानमन्त्रीले राजीनामा नदिए कांग्रेसले संसद्मा अविश्वास प्रस्ताव लैजान्छः पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसद्मा अविश्वासको प्रस्ताव लैजाने बताएका छन् । नेपाली कांग्रेस नुवाकोटद्धारा काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसद्मा अविश्वासको प्रस्ताव कांग्रेसले नै ल्याएर भए पनि हटाउने बताए । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफैं राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसद्मा जाने उनको भनाइ छ । सरकारबाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुनःस्थापनाका लागि आवाज उठाएका तीन दलको बीचमा वार्ता गरी सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसद्मा अविश्वासको प्रस्ताव लैजाने उनले बताए । पौडेलले अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने पनि बताए । तर, यस विषयमा अन्य दलहरूसँग छलफल गर्न कांग्रेस तयार रहेको पनि स्पष्ट पारे ।