NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

कसरी गर्ने विद्युतीय सामग्रीको फोहोर व्यवस्थापन ?

काठमाडौं । २१ औं शताब्दीलाई प्रविधिको दुनियाँको रुपमा अथ्र्याइएको छ । आज विश्वभर नै इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स सामानको चाप लगातार बढिरहेको छ । दैनिक उत्पादन भइरहेका नयाँ नयाँ प्रविधिका साधनहरुले हाम्रो जीवनलाई सरलतातर्फ उन्मुख मात्रै गरिरहेका छैनन्, यी ग्याजेटहरु हाम्रो वातावरणमा विष बनेर क्षति पनि गरिरहेका छन् । अनावश्यक रुपमा उत्पादन भइरहेका इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स सामानको बढ्दो चापले हाम्रो वातावरणलाई विषाक्त बनाइरहेको छ । सँगै पर्यावरण र हाम्रो स्वास्थ्यको लागि पनि यो अर्को क्रासको विषय बनेको छ । घर वा उद्योगमा प्रयोगपछि फ्याँकिने इलेक्ट्रानिक र इलेक्ट्रिक सामानलाई नै इलेक्ट्रोनिक फोहोर भनिन्छ, जसलाई सरल रुपमा ‘ई–वेष्ट’ भनेर पनि बुझ्ने गरिन्छ । प्रयोगपछि फ्याँकिएका विद्युतीय सामानहरु यसमा पर्छन् । ई–वेष्टले समस्या तब निम्त्याउँछ, जब यी सामग्रीको व्यवस्थित रुपमा संलकन हुँदैन । गैर वैज्ञानिक रुपमा यसलाई फ्याँक्दा हावा, पानी र माटोलाई यसले दुषित गरिरहेको हुन्छ । र दीर्घकालमा गएर यसले स्वास्थ्यमा पनि निकै प्रतिकुल असर पुर्याउँछ । संयुक्त राष्ट्र संघको ग्लोबल ई–वेष्ट मनिटर २०२० को रिपोर्टका अनुसार सन् २०१९ मा विश्वमा करिब ५.३६ करोड मेट्रिक टन विद्युतीय फोहोर उत्पादन भएको थियो । २०३० मा पुग्दा यो मात्रा बढेर ७.४ करोड मेट्रिक टन हुने अनुमान गरिएको छ । २०१९ मा एशियामा मात्रै सबैभन्दा धेरै २.४९ करोड टन फोहोर उत्पादन भएको थियो । एशियापछि अमेरिकामा १.३१ करोड टन, युरोपमा १.२ करोड टन, अफ्रिकामा २९ लाख टन र औशिनियामा ७ लाख टन विद्युतीय फोहोर उत्पादन भएको थियो । अहिले कै अनुपातमा विद्युतीय फोहोर बढिरहने हो भने यसले अबको १६ वर्षमै दोब्बर हुने अनुमान संयुक्त राष्ट्र संघले गरेको छ । राष्ट्र संघको विद्युतीय फोहोर व्यवस्थापन ऐनका अनुसार विद्युतीय सामान निर्माण गर्ने कम्पनीले नै विद्युतीय फोहोरको संकलन गनुपर्ने हुन्छ । संकलन गरेर यसलाई रिसाइकल गरी प्रयोग गर्ने वा सुरक्षित रुपमा नष्ट गर्ने प्रक्रिया हुन्छ । विश्वभरको तथ्यांक हेर्ने हो भने २०१९ मा कुल ई–वेष्टको १७.४ प्रतिशत फोहोर मात्रै रिसाइकल भएको थियो । बाँकी ८२.६ प्रतिशत फोहोर सुरक्षित रुपमा फ्याँकिएको थियो । विद्युतीय सामग्रीको निर्माण गर्दा सुन, चाँदी, तामा जस्ता धातुको प्रयोग गरिएको हुन्छ । विद्युतीय फोहोरलाई यत्तिकै फ्याँक्दा यी धातु नष्ट भएर हुने घाटा एकातिर छ भने अर्कातिर विद्युतीय फोहोरले वातावरणमा पार्ने असर । २०१९ मा फ्याँकिएको ८२.६ प्रतिशत विद्युतीय फोहोरमा रहेका धातुहरुलाई रिसाइकल गरेको भएमा ५७ सय कारोड अमेरिकी डलर बराबरको सामान रिसाइकल हुन्थ्यो । रिसाइकल नहुँदा आर्थिक क्षति त छँदै छ, त्यो भन्दा महत्वपूर्ण वातवरणीय क्षति । प्लास्टिकभन्दा धेरै समय विद्युतीय फोहोरलाई माटोमै मिल्न लाग्छ । यी फोहोरहरु जलाउँदा उत्तिकै मात्रामा वायु प्रदूषण हुन्छ भने जमिनमा यसै फ्याँक्दा नकुहिने भएकाले यसले माटो र पानीलाई पनि दुषित बनाउँछ । समयसँगै विस्तारै कुहिँदै जाँदा विद्युतीय फोहोरबाट विर्सजन हुने दुषित हावाले अम्ल वर्षासम्म गराउँछ । अध्ययनका अनुसार विद्युतीय फोहोरमा लिड, मर्करी, बेरिल्लियम, थाल्लियम, आर्सनिकजस्ता तथ्वहरु हुन्छन् । यीसँगै पोलिक्लोरिनेटेड बिफिनल पनि विद्युतीय फोहोरहरुमा हुन्छ । विद्युतीय फोहोरमा हुने यस्ता तत्वहरुले निदान नहुने रोगहरु निम्त्याउने अध्ययनले देखाएको छ । क्यान्सर, गर्भ तुहिने समस्या, मस्तिष्क क्षति, सामान्य ज्ञानमा क्षति लगायतका समस्याहरु निम्त्याउँछ । विद्युतीय फोहोरलाई कसरी व्यवस्थापन गर्ने? अहिले विश्वमा उत्पादन भइरहेको विद्युतीय फोहोरको व्यवस्थापनको पक्ष हेर्ने हो भने थोरै मात्रामा मात्रै रिसाइकल हुन्छ । विद्युतीय फोहोरमा रुपान्तरित विद्युतीय सामग्रीलाई पुनः प्रयोगमा ल्याउने पाटोतर्फ राम्रोसँग ध्यान गएको छैन । विद्युतीय फोहोरको व्यवस्थापनको पाटो हेर्ने हो भने उत्पादन भएको फोहोरलाई पुनः प्रयोगमा ल्याउनु नै पहिलो उपाय हो । रिसाइकल गरेर पुनः प्रयोगमा ल्याएमा फोहोरको व्यवस्थापन हुने र यसले वातावरणमा क्षति कम पनि गर्छ । अर्कातिर, विद्युतीय फोहोर कम उत्पादन गर्नु पनि यसको व्यवस्थापनको उपाय हो । विभिन्न कामको लागि विभिन्न विद्युतीय सामग्री किन्नुको साटो एउटै सामग्रीमा विभिन्न विशेषता खोजेर किनेमा त्यसले फोहोर कम उत्पादन गर्नमा सहयोग गर्छ । त्यस्तै, नयाँ सामग्री आउनेबित्तिकै किन्नुभन्दा पुरानै सामग्रीलाई दीर्घकालसम्म प्रयोग गर्नुले पनि कम विद्युतिपय फोहोर उत्पादन गर्न सहयोग पुग्छ । ‘इलेक्ट्रोनिक प्रोडक्ट इन्भारोमेन्ट एसेसमेन्ट टुल’ मार्फत प्रमाणित विद्युतीय सामग्रीको खरिद गरेर प्रयोग गर्ने हो भने पनि यसले वातावरणमा कम क्षतिका लागि मद्दत गर्छ । उक्त संस्थाले वातावरणमा कम क्षति गर्ने विद्युतीय सामग्रीलाई मात्रै प्रमाणित गर्ने भएकाले संस्थाबाट प्रमाणित सामग्रीले विद्युतीय फोहोरले वातावरणमा पर्ने क्षतिलाई कम गर्न सहयोग गर्छ ।