NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

८७१ बालबालिका र ३१८ जेष्ठ नागरिक जेलमा

काठमाडौं । बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार १८ वर्ष उमेर पूरा नगरेका व्यक्ति बालबालिका हुन्। त्यस्तै, जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ ले ६० वर्ष उमेर पूरा गरेका नागरिकलाई जेष्ठ नागरिकको परिभाषामा समेटेको छ। कम तथा अधिक उमेरका कारण शारीरिक सक्रियता कम हुने हुँदा यी उमेर समूहका व्यक्ति अपराधमा कम संलग्न हुने अनुमान गरिन्छ।तर, नेपालमा यो उमेर समूहका मानिसहरूको अपराधमा अधिक संलग्नता देखिन्छ। कारागार व्यवस्थापन विभागका अनुसार हाल १८ वर्ष उमेर मुनिका आठ सय ७१ जना बालबालिका कारागार (बालसुधार गृह) मा छन्। त्यस्तै, ६० वर्ष उमेर पूरा भएका तीन सय १८ जना जेष्ठ नागरिक पनि विभिन्न कारागारमा जेल जीवन व्यतित गरिरहेका छन्। कारागारमा सकसबालबालिका र ज्येष्ठ नागरिकलाई कानुनले अन्य उमेर समुहका व्यक्तिको तुलनामा छुट र सहुलियत दिएको छ। अपराध र सम्बन्धिका कसुरमा पनि यो समूहलाई कम सजाय हुने व्यवस्था छ। तर, मुलुकका कारागार तथा बालसुधार गृहहरू भद्रगोल हुँदा त्यहाँ बालबालिका र जेष्ठ नागरिकको अवस्था दयनीय छ। हाल मुलुकभर विभिन्न आठ जिल्लामा बालसुधार गृहहरू छन्। भक्तपुर, मोरङ, कास्की, बाँके, मकवानपुर, डोटी, पर्सा र रुपन्देहीमा यस्ता बालसुधार गृह छन्। ती जिल्लामा बालसुधार गृह छन्। कुनै कसुरको अभियोग लागी मुद्दाको तहकिकात वा पूर्पक्षका लागि थुनामा बस्नुपर्ने वा कैदको सजाय पाइ कैदमा जानुपर्ने बालबालिकलाई बाल सुधार गृहमा राख्नुपर्ने कानुनी व्यवस्था छ। तर, यस्ता बालसुधार गृहको उपर्युक्त व्यवस्थापन छैन। त्यहाँ क्षमताभन्दा धेरै संख्यामा बालबालिका राखिएको तथा शिक्षादिक्षा, मनोरञ्जन लगायतको उचित प्रबन्ध नभएको यसअघि विभिन्न समयमा भएका अनुगमनहरूले देखाएका छन्।त्यस्तै, कारागार तथा हिरासतमा ज्येष्ठ नागरिकको अवस्था पनि दयनीय रहेको गत वर्ष महान्यायाधिवक्ता कार्यालयले प्रकाशित गरेको अनुगमन प्रतिवेदनमा उल्लेख छ । ज्येष्ठ नागरिकलाई विशेष व्यवस्था नभएको प्रतिवेदनमा उल्लेख छ। बालबालिका र जेष्ठ नागरिकको अपराधसम्बन्धी कानुनी व्यवस्थाकानुनले बालबालिका र जेष्ठ नागरिकको हकमा अपराध तथा कसुरहरूमा छुटको व्यवस्था गरिएको छ। बालबालिका सम्बन्धी ऐनमा १० वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै प्रकारको मुद्दा चलाइने तथा सजाय नहुने व्यवस्था छ। त्यस्तै, १० वर्षभन्दा माथि र १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई कसूरको प्रकृति हेरी ६ महिनासम्म कैद सजाय गर्न वा कैद नगरी बढीमा एक वर्षसम्म बाल सुधार गृहमा राख्ने व्यवस्था छ। १४ माथि र १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई कानुन बमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा सजाय हुने व्यवस्था १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेरको बालबालिकाको हकमा उमेर पुगेको व्यक्तिलाई हुने सजायको दुई तिहाई सजाय हुने व्यवस्था छ। जेष्ठ नागरिक सम्बन्धी ऐनमा कैद सजाय भुक्तान गरिरहेका जेष्ठ नागरिकलाई निजको उमेर र कसुर हेरी छुट दिन सक्ने व्यवस्था छ। जसमा ६५ वर्ष उमेर पूरा भई ७० वर्ष ननाघेको ज्येष्ठ नागरिकलाई २५ प्रतिशतसम्म, ७० वर्ष पूरा भई ७५ वर्ष ननाघेकालाई ५० प्रतिशतसम्म, ७५ वर्ष उमेर पूरा भएकालाई ७५ प्रतिशतसम्मै र अशक्त वा ७५ वर्ष उमेर पूरा गरेको जेष्ठ नागरिकलाई कसूरको गाम्भीर्य हेरी कारागारमा नराखी हेरचाह केन्द्रमा राख्न आदेश दिन सक्ने व्यवस्था छ। मुलुकी अपराध संहिता, २०७४ ले पनि १८ वर्षभन्दा कम वा ७५ वर्ष भन्दा माथि उमेरकाहरूबाट भएको अपराधमा कसुरको गम्भीरता कम हुने भनेको छ। सम्बन्धित समाचार :देशभरका जेलमा २ हजार बिरामी कैदीबन्दी, एचआईभी लागेकादेखि मानसिक रोगीसम्मजेलमा कोचाकोच : क्षमताभन्दा ६ गुणासम्म धेरै कैदी, सुत्नबस्न पनि आलोपालो