NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

इन्डोनेसिया र टिमोर लेस्टेमा बाढी-पहिरोका कारण मृत्यु हुनेको संख्या ११३ पुग्यो

जकार्ता । इन्डोनेसिया र टिमोर लेस्टे (इस्ट टिमोर) मा बाढी-पहिरोका कारण मृत्यु हुनेको संख्या ११३ पुगेको छ । दर्जनौं हराइरहेका छन् । भारी वर्षापछि आइतबार बिहानबाट बाढी-पहिरोले जनधनको क्षति पुर्‌याउन सुरु भएको थियो । बाँध नाघेर बाढी हजारौंको बसोबास रहेको बस्तीतर्फ पस्दा धेरै क्षति भएको स्थानीय सरकारी अधिकारीहरुले बताएका छन् । बाढीले दर्जनौं भौतिक संरचना क्षतिग्रस्त बनाएको छ । इन्डोनेसियाको पूर्वी क्षेत्र फ्लोरिस र सीमावर्ति इस्ट टिमोरको राजधानी दिलीको आवासीय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ । हालसम्म इन्डोनेसियामा ८६ जनाको मृत्यु भएको छ । यो संख्या अझै बढ्नसक्ने सरकारी अधिकारीहरुले बताएका छन् । ‘बस्तीमा थुप्रिएको माटो र मौसम मुख्य चुनौती बनेका छन् । डेब्रिसको थुप्रोले पनि उद्धार तथा खोजी टोलीमा समस्या भइरहेको छ,’ इन्डोनेसियाको विपद् व्यवस्थापन केन्द्रका प्रवक्ता रादित्या जातीले बताए । पूर्वी फ्लोरिसको विपद् व्यवस्थापन प्रमुख अल्फोन्स हाडा बेथानले धेरै जना पूरिएको अनुमान गरिए पनि कति जना हराइरहेका छन् यकिन भइनसकेको बताए । उनका अनुसार प्रभावित क्षेत्रका केही स्थानीयलाई सुरक्षित स्थलमा लगेर राखिएको छ । प्रत्येक सब-डिस्ट्रिक्टमा सयौंको संख्यामा मानिसहरुलाई उद्धार गरिए पनि अझै धेरैजना प्रभावित क्षेत्रमै रहेका छन् । ‘उनीहरुका लागि औषधि, खाना र ब्ल्यांकेटको जरुरी छ,’ उनले भने । उता इस्ट टिमोरमा हलसम्म २७ जनाको शव भेटिएको त्यहाँस्थित समाचार संस्थाहरुले बताएका छन् । उनीहरु अधिकांश राजधानी दिलीका रहेका बताइएको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै संवेदनशील मौसमी अवस्थामा सरकारी अधिकारीको सल्लाह, सुझाव मान्न आग्रह गरेका छन् । उनले स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मीलाई प्रभावित स्थलमा खटिन निर्देशन दिएको बताएका छन् । अत्यावश्यक खाद्य सामग्री, कपडा र अस्थायी संरचना बनाई पीडितलाई बस्ने वातावरण बनाउन सरकार लागिपरेको उनको भनाइ छ । वर्षायाममा यहाँ बर्सेनि बाढी-पहिरोजन्य घटना घट्छन् । यसअघि गत जनवरीमा जाभा प्रान्तको सुमेदंगमा बाढीका कारण ४० जनाको मृत्यु भएको थियो । यहाँको विपद् व्यवस्थापन केन्द्रका अनुसार १२५ मिलियन जनसंख्या भएको इन्डोनेसियाका करिब आधा मानिस पहिरोको जोखिम रहेको क्षेत्रमा बसोबास गर्छन् । (एजेन्सी)