NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

एमालेको वैधानिकता ओलीले पाए नआत्तिनु– माधव नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्ना नेता तथा कार्यकर्तालाई निर्वाचन आयोगले एमालेको वैधानिकता केपी ओलीलाई दिए नआत्तिन आग्रह गरेका छन् । मंगलबार आफू निकट बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको वैधानिकता दिएमा नआत्तिन भनेका हुन् । यस्तो समस्या आएमा सामाधान पनि निकाल्नेमा उनले कार्यकर्तालाई विश्वस्त पारेका छन् ।आफ्नो पक्षमा लागेका कुनै पनि नेता÷कार्यकर्तालाई बीचैमा अलपत्र नपार्ने पनि नेपालले बताए । ‘तपाईहरू र हामी एउटै डुंगामा सवार भएका छौं । त्यो डुंगालाई सफलताका साथ वारीबार पारी पुर्‍याई छाड्ने छौं,’ उनले भने, ‘लक्ष्यमा पुगि छाड्ने छौं । त्यसो हुनाले आत्तिनुपर्ने छैन ।’ नेपालले आफूले लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकतावद्ध भएर जानका लागि छलफल भइरहेको बारेमा पनि जानकारी गराए । भेलालाई सम्बोधन गर्दै नेता नेपालले आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको बताए । प्रचण्डको कार्यकर्ता बन्न जाने भन्दै ओली पक्षले आफूमाथि भावनात्मक ब्ल्याकमेल गरेको उनले बताए । तर हिजोको दिनमा केपी ओली र प्रचण्डको निकटता बढ्दा विरोध गर्ने पनि आफैं भएको उनले दाबी गरे । ‘अहिले मसँग भावनात्मक ब्ल्याकमेल भएको छ,’ उनले भने,‘हिजो केपी ओलीले प्रचण्डसँग चोचोमोचो मिलाउँदा विरोध गर्ने मै हुँ । दुईवटाको चोचोमोचो मानिदैन भन्ने पनि मै हुँ ।’ प्रधानमन्त्री ओलीले आफूलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेर आफ्नो वास्तविक स्वरुप देखाएको पनि उनले बताए । हाल ओलीको यो कदममात्रै नभएर उनी निकट व्यक्तिहरुलाई आफूलाई पहिल्यैदेखि सताउने गरेको नेपालले बताए । कार्यक्रममा वि सं २०५१ सालदेखि नै मदन भण्डारी फाउण्डेसनको नाममा ओलीले पार्टीमा गुट स्थापना गर्दै आएको नेपालको आरोप छ । जसकारण अहिले पार्टी बचाउन धेरै कोशिश गरेपछि ओलीको अघि केही नलागेको उनले स्पष्ट पारेका छन् ।