NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बाँदरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार र अदुवातिर

काठमाडौं । तनहुँका किसानले लगाएको अन्नबाली बाँदरले सखाप पारिदिएपछि स्थानीय तहले किसानलाई अदुवा र बेसार खेतीका लागि प्रोत्सहान गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाले बाँदरले अन्नबाली खाएर सास्ती दिन थालेपछि बाँदर धपाउन नयाँ विधि अपनाएको छ । वन जंगलमा पर्याप्त आहारा नहुँदा कृषकले खेतबारीमा लगाएको अन्नबाली बाँदरबाट जोगाउन नसकेपछि पालिकाले नयाँ जुक्ति निकालेको हो । बाँदरले लगाएको खेती मात्रै नभई घरको कौशीमा राखेको अन्नबालीसमेत खाएर नोक्सान पु¥याउन थालेपछि शुक्लागण्डकी नगरपालिका–७ वडाले त्यस क्षेत्रका कृषकलाई अदुवा र बेसारको बीउ वितरण गरेको छ । दिनहुँ बाँदरको समस्याबाट देशभरका कृषक चिन्तित छन् । उक्त समस्या कम गर्दै उत्पादन बढाउन र कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले अदुवा र बेसारको बीउ वितरण गरिएको वडाध्यक्ष रामबहादुर थापा क्षेत्रीले बताए । कृषकलाई ३३५ किलो बेसार र ५० किलो अदुवाको बीउ वितरण गरिएको छ । उनले भने, ‘वडाको अर्चले र न्यारथुमका विपन्न ३५ कृषकलाई भने ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको छ ।’ खेत बारीमा लगाएको खेतीबाली बाँदरले सखाप पार्ने भएकाले वैकल्पिक खेती गर्न बीउ वितरण गरिएको उनले बताए । बाँदरले नखाने भएपछि बाँदरले क्षति पु¥याउने खेतबारीमा अदुवा र बेसार खेती प्रभावकारी हुने देखिएकाले कृषकको माग अनुरूप बीउ वितरण गरिएको सो वडा कार्यालयले जनाएको छ । कृषकको आवश्यकता र मागअनुसार वितरण गरेको बताउँदै वडाध्यक्ष थापाले भने, ‘कृषकको चासो देखाएर लाग्न आग्रह गरेका छौं, बीउको उचित सदुपयोग भए÷नभएको समय समयमा अनुगमन गरिनेछ ।’