NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

भीम रावलको संयोजकत्वमा एमालेको सुदूरपश्चिम कमिटी गठन

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार पक्षले गण्डकी प्रदेशपछि सुदूरपश्चिम प्रदेशमा पनि कमिटी गठन गरेको छ । नेपाल पक्षको मंगलबार धनगढीमा सम्पन्न प्रदेशस्तरीय विस्तारित बैठकले भीम रावललाई प्रदेश संयोजक तोक्दै समानान्तर कमिटी गठन गरेको हो । बैठकले प्रदेश, जिल्ला, स्थानीय तह र भातृ संगठनमा समेत रिक्त पदमा नेतालाई जिम्मेवारी तोकेको छ । दार्चुलाबाहेक प्रदेशका ८ जिल्लाको जिम्मेवारी तोकिएको छ । कैलालीमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा चक्रबहादुर मल्ल, डडेल्धुरामा तारा जोशी, बैतडीमा महादेव भट्ट, अछाममा शेरबहादुर कुँवर, बझाङमा दिलबहादुर सिंह र बाजुरामा गगन रावललाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको छ । नेपाल पक्षको एमाले प्रदेश कमिटी सदस्य तथा कार्यालय सचिव दिनेश सुवेदीका अनुसार प्रदेशमा सबै कमिटीलाई पार्टीले चाँडै पूर्णता दिने तयारी छ । एमालेको विधानविपरित काम गरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहित शीर्ष नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई साधारण सदस्यसमेत नरहने गरी गतसाता नै पार्टीबाट ६ महिनाका लागि निष्काशन गरेका छन् । यस्तै अर्घाखाँची जिल्ला कमिटीका तीन नेतालाई पनि अध्यक्ष ओलीले सोही कारबाही गरेका छन् । यता नेपालपक्ष भने ओलीको कारबाहीबाट आफूहरुलाई कुनै फरक नपर्ने प्रतिक्रिया जनाउँदै एमालेमा समानान्तर संगठन बनाउन क्रियाशील छ । नेपाल पक्षले काठमाडौंसहित खोटाङ, भोजपुर, अर्घाखाँचीमा जिल्ला कमिटी साथै गण्डकी र सुदूरपश्चिम प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ ।