NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रधानमन्त्रीलाई गगन थापाको चुनौती : तीन वर्षमा कहाँ के गर्नुभयो ? आउनुस् संसदमा बहस गरौं

काठमाडौं । कांग्रेस सांसद गगन थापाले सरकारले तीन वर्षमा कामभन्दा बढी प्रचार गरेको भन्दै संसदमा उभिएर बहस गर्न प्रधानमन्त्री केपी ओलीलाई चुनौती दिएका छन् । सात वर्षमा सकिनुपर्ने मेलम्ची आयोजनामा २३ वर्ष लाग्दा र अरबौं लाग्दा माफी माग्नुपर्नेमा उल्टै अनावश्यक प्रचार गरेको आरोप थापाले लगाए।‘सात वर्षको अयोजना २३ वर्ष लाग्नुपर्ने, अरबौ खर्च हुनुपर्ने । यो तपाईंको नेतृत्वको सरकारले मात्रै होइन सबै सरकारमा हुँदा भएको कमजोरी हो । तर, तपाईंहरु अहिले चमत्कार भएर जसरी प्रस्तुत हुनु भइरहेको छ’ थापाले भने, ‘फास्ट ट्रयाक कहाँ पुग्यो ? बुढी गण्डकी आयोजना के भयो ? कर्णाली करिडोर कहाँ पुग्यो ? राष्ट्रिय गौरवका आयोजना कहाँ कति बने ? कति प्रगति भए ? खै यसमा बहस गरेको ? खै काम भएको ? गफमात्रै चुटेर निर्माण सकिएको सकिएको पुलको उद्घाटन गर्ने, आधा सकिएको सडकको शिलान्यास गरेर मात्रै हुन्छ ?’ पूर्वाधार निर्माणमा यो सरकार मात्रै नभई सबै सरकारको समस्या रहेको भन्दै थापाले काम गर्ने तरिका, समन्वय, स्रोत, आयोजनाको छनोट जस्ता तथ्यमा टेकेर बहसमा उत्रिनुपर्ने उनले बताए । ‘म तपाईंले प्रस्तुत गर्नुभएको तथ्यमा टेकेर बहस गर्न तयार छु । तीन वर्षमा कहाँ के गर्नुभयो ? बहस गर्न यो संसदमा उभिन चुनौती दिन्छु । बाहिर कार्यकर्तासँग होइन’ थापाले भने, ‘‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन्छु ।’