NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

जसपा ओली नेतृत्वको सरकारसँग थप नजिकिएको नेता ठाकुरको संकेत

काठमाडौं । शुक्रबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा जनता समाजवादी पार्टीका शीर्ष नेताहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका विषयमा दुईथरी कुरा उठेको छ । वर्तमान सरकारमा सहभागी हुने या नहुने विषयमा जसपा नेताबीचमा संशय देखा परेको हो । जसपाभित्र डा. बाबुराम भट्टराई र उपेन्द्र यादव तत्काल सरकारमा जान नहुने अडानमा रहेका बेला शीर्ष नेता महन्थ ठाकुर र राजेन्द्र महतो भने सरकारले आफूहरुका माग पुरा गर्दिए सरकारमा सहभागी हुने निष्कर्षमा पुगेका छन् । कांग्रेस सभापति देउवा निवासमा भएको छलफलमा जसपा, माओवादी केन्द्र र कांग्रेसका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो । ओली नेतृत्वको सरकारको विकल्पको खोजी गरिरहेका कांग्रेस र माओवादीले सत्ता समीकरणमा जसपाको निर्णय चाहे पनि आन्तरिक मतभिन्नताका कारण जसपा आफैं सत्ता समीकरणबारे ठोस निर्णयमा पुग्न सकेको छैन । जसपाका ठाकुर र महतोपक्षका नेता नयाँ सरकारको समीकरणको लागि भन्दा पनि वर्तमा नेकपा एमाले नेतृत्वकै सरकारमा ‘स्पेस’ खोजिरहेका छन् । केही दिनअघि मात्र ‘ओली हटाऔं, देश बचाऔं’ भन्दै सार्वजनिक रुपमै प्रस्तुत भएको डा.भट्टराई आजको छलफलमा पनि सोही अडानमा रहेका थिए । तर जसपाकै ठाकुर भने रेशम चौधरीको रिहाइलगायतमा ओली नेतृत्वको सरकार सकारात्मक देखिएकाले तत्काललाई ओलीकै साथमा आफूहरु रहने धारणा राखेका छन् । ठाकुरले रेशम चौधरी लगायतको मुद्दा फिर्ताको प्रक्रिया अघि बढिसकेको हुनाले आफूहरु अहिले सरकार गठनबारे छलफलमा नरहेको बताएका छन् । कांग्रेस सभापति शेर बहादुर देउवाको आह्वानमा भएको तीन दलीय बैठकमा भाग लिएर फर्किने क्रममा ठाकुरले सरकार बनाउने प्रस्ताव पहिलो पटक देउवाले राखेको र यसमा पार्टीमा छलफल हुने बताए । ‘सरकार बनाउने प्रस्ताव आएको छ । हामीले पार्टीभित्र कुनै छलफल गरेको छैन, हाम्रो मुद्दा प्रधानमन्त्री ओलीले अगाडि बढाउनुभएको छ । बल उहाँको पासमा गइसकेको छ । उहाँहरुले हामी पनि गर्छौं भन्नुभएको छ । तर यसबारेमा छलफल गर्न बाँकी छ,’ ठाकुरले भने । ठाकुरले आफ्ना नेता कार्यकर्तामाथिको मुद्दा फिर्ताको प्रक्रियामा गइसकेकाले पार्टीभित्र थप छलफल गरेर निष्कर्षमा पुग्ने बताए । यता माओवादी केन्द्रले भने संसदमा आफूहरुको पक्षमा बहुमत सांसद रहने पक्का भएपछि मात्र ओलीलाई प्रधानमन्त्रीबाट हटाउने निर्णय गरेको छ । तर जसपा नै ओलीतिर लागेको खण्डमा कांग्रेस र माओवादी केन्द्रका प्रत्यक्ष सांसदको संख्याले सरकार बन्ने अवस्था छैन । यसैले कांग्रेस र माओवादी जसपासँग नजिकबाट संवाद गर्न चाहने पक्षमा छन् । तर प्रधानमन्त्री ओलीले ‘आवश्यक र उचित माग’ पुरा गर्ने भन्दै जसपालाई आफ्नो नजिक तानेका छन् ।