NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मदिरा पसल बन्द गर्ने विषयमा भएको विवादमा छोराले गरे बाबुको हत्या

विराटनगर । विराटनगर महानगरपालिका–८ बलुवाईमा शनिबार राति छोराले आफ्नै बाबुको हत्या गरेका छन् । ५४ वर्षीय विको सहनी मुखियाको हत्या भएको हो। माइलो छोरा २५ वर्षीय रवि सहनी मुखियाले बाबु विकोको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । छिमेकीका अनुसार विको बाँसको भाटाको बेरा लगाएर बनाइएको घरमा पसल राखेर घरेलु मदिरा बिक्री गर्थे । राति अवेरसम्म मदिरा पसल खुल्लै राखेको देखेपछि रविले बन्द गर्न आग्रह गरेको विषयलाई लिएर बाबु र छोराबीच विवाद भएको थियो । विवाद बढ्दै गएपछि उनले बुवालाई कुटपिट गर्दै धकेलिदिएको प्रहरीले जनाएको छ । धकेल्दा घरको बेरा लगाएको बाँसको भाटामा विको ठोक्किएर घाइते भएका थिए । उनको घाँटीमा भाटाले छेडेको चोट छ । घाइते अवस्थामा उपचारका लागि कोसी अस्पताल पुर्‍याइएका विकोलाई राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी डीएसपी राईले दिए । घटनास्थल वरपर रगत लतपतिएको छ । घरमा विकोको जेठो छोरा लेटु सहनी मुखिया ज्वरो आएर बिरामी परेका थिए । उनलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइएको थियो । जेठो छोरालाई लिन आएको एम्बुलेन्समै राखेर माइलो छोरासँगको झगडामा घाइते भएका विकोलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।