NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी, सिडिओ भन्छन्– छलफल गर्दैछौं

काठमाडौं । कोरोना भाइरसको संक्रमण दिनहुँ बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जारी गर्नेबारे निर्णय लिने भएका छन् । यसका लागि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले संयुक्त छलफल गरेर निर्णय लिनेबारे तयारी गरेको बताएका छन् । कोभिड–१९ संकट व्यवस्थापन कार्यदल (सीसीएमसी) ले सहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित पुष्टि भए निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सरकारसमक्ष सिफारिस गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा आइतबर अपराह्न बसेको बैठकको निर्णयअनुसार यस्तो सिफरिस भएपछि उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्ने सम्भावना बढेको छ । जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन लागिएको हो । योसँगै काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने तयारी गरेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरलाई छुट्टाछुट्टै हेर्न नमिल्ने भन्दै उनीहरुले संयुक्त निर्णय गर्ने तयारी गरेका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर छलफल गर्ने बताए । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले पनि स्थिति नियन्त्रणबाट बाहिर जानसक्ने देखिएकाले सोमबार छलफल गरेर निर्णयमा पुग्ने जानकारी दिए । यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पनि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर निर्णय निकालिने बताए । उपत्यकाका तीनवटै जिल्लामा ५ सय बढी सक्रिय संक्रमित छन् । गत वर्ष पनि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा गर्नेबारे निर्णय गरेको थियो । फाइल तस्बिर