NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

‘मुख्यमन्त्रीको कुर्सी जोगाउन सांसदलाई आइसियूमा’

सत्ताका लागि ५० को दशकमा मौलाएको असंसदीय राजनीतिको पुनरावृत्ति हुँदैछ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीमाथि अविश्वास प्रस्तावमा मतदान हुने दिन एक निर्णायक सांसद नाटकीय रूपमा ‘आइसियुमा’ भेटिएका छन् । उनको दल राष्ट्रिय जनमोर्चाले यसका लागि सत्तारुढ दललाई आरोपित गरेको छ । बुधबार दिउँसो राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अचानक ‘बेपत्ता’ भएपछि गण्डकी प्रदेश सभाको सम्पूर्ण काम प्रभावित भयो । तर, जब प्रदेश सभा स्थगित भयो, कोरोना पजिटिभ भएको भन्दै शाही अस्पतालको ‘आइसियू’मा भेटिए । जबकि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले उनी कोरोना नेगेटिभ भएको रिपार्ट बुधबार बिहान नै दिएको थियो । गण्डकीको सत्तासमीकरणमा सांसद शाही कति महत्वपूर्ण थिए भन्ने त्यहाँको अंकगणितको तस्बिरले देखाउँछ, जुन तस्बिर बुझेपछि उनी ‘बेपत्ता’ भए वा बनाइए भन्ने प्रश्नलाई थप पेचिलो बनाइदिन्छ । अविश्वास प्रस्तावमाथि बुधबार प्रदेश सभामा मतदान हुँदै थियो, गण्डकी प्रदेश सरकारको भविष्यमाथि जनप्रतिनिधिले फैसला गर्दै थिए । प्रदेश सभामा ६० सदस्यमध्ये कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई गरी ३१ जनाले अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने योजना प्रतिपक्ष दलहरूको थियो । मंगलबार रातिसम्म उनीहरू यसमा विश्वस्त पनि थिए । तर, जब बुधबार ‘जनमोर्चा’का सांसद शाही ‘बेपत्ता’ भए, प्रतिपक्ष दलहरू तनावमा देखिए भने सत्तापक्ष सांसद उत्साही । जनमोर्चाको केन्द्रले नै अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । तीन सांसद रहेको जनमोर्चाका दुई सांसद पियारी थापा र कृष्ण थापा भने प्रदेश सभा बैठकमा उपस्थित थिए ।जब कि अविश्वासको प्रस्ताव पारित गर्न ३१ सांसद आवश्यक पर्नेमा शाहीको अनुपस्थितिले ३० जना मात्र हुने भएपछि प्रस्ताव फेल हुने खतरा थियो । मतदानमा शाहीको अनुपस्थिति सत्तासमीकरणको दृष्टिकोणले निर्णायक थियो । यही कारण बुधबार दिनभर उनको ‘अज्ञात अवस्था’ शंकाको घेरामा परेको हो । संसद्मा एमालेका २७ र एक स्वतन्त्र सांसद छन् । मतदानपूर्वसम्म मुख्यमन्त्री स्पष्ट अल्पमतमा थिए । जनमोर्चाले मुख्यमन्त्रीको पद जोगाउन आइसियुमा राखिएको दाबी गरेको छ । पार्टीका नेताहरूको भनाइ छ, ‘उनी बिरामी हुन् भने हामीले भेट्न किन नपाउने ? सांसद खरिदबिक्रीका लागि भएका भेटघाट र अस्पताल बसाइका वेला उनी साच्चै संक्रमित भए भने उनको स्वास्थ्य र जीवनको जिम्मेवारी कसले लिन्छ र?’ नयाँ पत्रिकामा खबर छ।