NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बाबुरामले गरे पूर्वप्रधानमन्त्रीबाहेकको नेतृत्वमा सरकार गठनको प्रस्ताव

प्रधानमन्त्री केपी ओलीले विश्वासकाे मत गुमाएसँगै उनी पदमुक्त भइसकेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेकी छन्। उक्त समयसीमा ३० वैशाखमा सकिँदैछ। नयाँ सरकार गठनमा निर्णायक मानिएकाे जनता समाजवादी पार्टी (जसपा) का नेताहरु दुई ध्रुवमा विभाजन भएसँगै मिलिजुली सरकार गठन पनि अन्याैलमा छ। नयाँ सरकार गठनमा लागेका जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक गतिराेध अन्त्यका लागि चार प्रस्ताव अगाडि सारेका छन्। उनले वर्तमान र पूर्वप्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकारको प्रस्ताव अगाडि सारेका छन्। यद्यपि याे प्रस्ताव त्यति सजिलाे छैन। किनकी प्रधानमन्त्रीकाे नेतृत्व कांग्रेसकाे पाेल्टामा छ। सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्रीका उम्मेदवार हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि पूर्वप्रधानमन्त्री नै हुन्। भट्टराईले अगाडि सारेकाे प्रस्ताव अनुसार जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री बन्न सक्छन्। तर उनी वर्तमान सरकारकाे पक्षमा लागेकाे र संसदमा पनि तठस्थ बसेकाले कांग्रेस, माओवादी केन्द्र र एमाले माधव नेपाल समूहले सहमति जनाउने सम्भावना निकै कम छ। भट्टराईले बुधबार विहान ट्वीट गर्दै संविधानको धारा ७६ (२) बमोजिम नै सरकार बनाउनपर्नेमा जोड दिएका छन्। उनले भनेका छन्, ‘देशको संकट हल गर्न यसो गरौं। धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्वप्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं। दलका प्रमुख/पूर्वप्रम रहेको निर्देशक समिति। साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण, टिआरसी/ मुद्दा,संविधान संशोधन,आर्थिक राहत ।एक वर्षभित्र चुनाव।’