NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

च्याउ टिप्न गएका वृद्धको जंगली हात्तीको आक्रमणबाट मृत्यु

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र बगाई माडी सेक्टरको इच्छानगरमा जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । बिहीबार हात्तीको आक्रमणबाट पर्साको ठोरी गाउँपालिका–२ बस्ने ६० वर्षीय गोविन्दबहादुर राउतको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जमा च्याउ टिप्न गएका बेला उनलाई हात्तीले आक्रमण गरेको हुनसक्ने निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले राउतको घटनास्थलमा नै मृत्यु भएको बताए । चालु आर्थिक वर्ष २०७७/७८ मा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु भइसकेको अधिकारीले जनाए । त्यसमध्ये हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । यस्तै बाघको आक्रणबाट तीन, गैँडाको आक्रमणबाट तीन तथा गौरीगाई र बँदेलको आक्रमणबाट एक/एक जनाको मृत्यु भएको थियो । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाका क्रममा अनावश्यकरूपमा जंगल क्षेत्रमा प्रवेश नगर्नसमेत निकुञ्जले अपिल गरेको छ । रासस