NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

आगामी रणनीति बनाउन कांग्रेस, माओवादी र जसपाका शीर्ष नेता २ घण्टादेखि छलफलमा

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीचको बैठक झन्डै २ घण्टादेखि जारी छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसिरहेको हो । बिहान ११ बजेपछि सुरु भएको बैठकमा कांग्रेसका शीर्ष नेता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेता र जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु सहभागी छन् । बैठकमा गठबन्धन सरकार बनाउन असफल भएपछि त्यसको समीक्षा र अबको विपक्षी रणनीतिबारे छलफल भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकारका लागि तीन दिनभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन् । तर विपक्षी गठबन्धनले उक्त दाबी पेस गर्न नसकेपछि राष्ट्रपतिले सोही धाराको उपधारा ३ बमोजिम संसद्को ठूलो दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । ओलीले आजै शपथ ग्रहण गर्दै छन् । प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।