NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कोभिडविरुद्धको तयारीमा मुख्यमन्त्री राउतको चासो, मणिपालमा कोभिड अस्पताल निर्माण युद्धस्तरमा गर्न निर्देशन

काठमाडौं । प्रदेश २ मा कोरोना संक्रमणको दर बढ्दै गएको छ । प्रदेश स्तरीय कोभिड–१९ संकट व्यवस्थापन समिति (पीसीसीएमसी) ले संक्रमण रोक्न र उपचारलाई दुरुस्त बनाउन जोड दिने विभिन्न निर्णय गरेको छ । कोभिड–१९ रोकथाम, नियन्त्रण, उपचारमा प्रदेश सरकारले निर्णयबाहेक केही गर्न नसकेको भन्दै जनस्तरबाट तीव्र आलोचना भइरहेको छ । जनकपुरधाममै प्रदेश २ का समाजिक विकासमन्त्री नवल किशोर साहको राजिनामा माग गर्दै युवाहरुले प्रर्दशनसमेत गरेका छन् । जनस्तरबाट विरोध सुरु भए पनि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत निर्णय कार्यान्वयनमा सक्रियता देखाउन दलबलसहित तयारी निरीक्षण गर्न पुगेका छन् । उनले कोभिड–१९ संक्रमितलाई अत्यावश्यक रहेको अक्सिजनको बन्दोबस्ती हेर्न धनुषाको ढल्केबरमा रहेको अक्सिजनप्लान्ट र निर्माणधीन कोभिड अस्पतालहरुको स्थलगत अनुगमन गरेका छन् । उनले ढल्केबरमा रहेको ढल्केबर ग्याँस उद्योग (अक्सिजन प्लान्ट) निरीक्षण गर्दै अक्सिजनको वितरण एकद्वारा प्रणालीमार्फत गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री राउत सहितको टोलीले जनकपुरधामको बेलामा निर्माणधीन अक्सिजन प्लान्टको तयारीबारे निरीक्षण गर्दै अविलम्ब प्लान्ट सञ्चालन गर्न उद्योगका सञ्चालकलाई आग्रह गरेको छ । मुख्यमन्त्री राउतको आग्रहपछि उद्योग सञ्चालकले अगामी शनिबारसम्म प्लान्ट सञ्चालन गरी २४ घण्टामा ६ सय सिलिन्डर रिफिल गर्ने प्रतिबद्धता जनाएको छ । कोभिड अस्पताल निरिक्षण प्रदेश २ सरकारले जनकपुरधाममा रहेको मनिपालको खाली भवनमा निर्माण गरिरहेको अस्थायी कोभिड अस्पतालको मुख्यमन्त्री सहितको टोलीले निरीक्षण गरेको छ । ‘संक्रमितको चाप बढेको छ । उपचार प्रभावकारी बनाउन निर्माण कार्य युद्धस्तरमा गर्नूस्,’ निरीक्षण क्रममा मुख्यमन्त्री राउतले भने । मुख्यमन्त्री राउतले ठेकेदार कम्पनीलाई युद्धस्तरमा निर्माण गर्न निर्देशन दिएकोले अगामी जेठ १५ भित्र मणिपालमा कोभिड अस्पताल सञ्चालनमा आउने मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सिडिइ भगवान झाले बताए । टोलीले जानकी मेडिकल कलेजले सञ्चालन गरेको कोभिड अस्पतालको निरीक्षण गरेको छ । जानकी मेडिकल कलेज रमदैयाका अस्पताल व्यवस्थापकसँग अस्पतालमा रहेका संक्रमितहरुको स्वास्थ्य अवस्था र उपचारमा देखिएका समस्याबारे मुख्यमन्त्रीले जानकारी लिएका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए । जानकी मेडिकल कलेजका व्यवस्थापन पक्षले अक्सिजनको कोटा बढाउन मुख्यमन्त्रीसँग गरेका छन् । उक्त अस्पतालले ६० बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याएर उपचार गरिरहेको छ । मुख्यमन्त्री राउतले बेड संख्या थप गर्न अस्पताल व्यवस्थापकलाई निर्देशन दिएको मन्त्री यादवले बताए । मुख्यमन्त्री राउतसँग आन्तरिक मामिला तथा कानूनमन्त्री यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, नेपाल प्रहरीका डिआइजी धिरज प्रताप सिंह र धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला स्थलगत निरीक्षणमा पुगेका थिए ।