NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

गाउँभरि ज्वरोका बिरामी बढे, तर परिक्षण र उपचार नहुँदा जडीबुटीको भरमा जाजरकोटका सर्वसाधारण

गाउँभरि घरैपिच्छे बिरामी हुँदा सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबै पालिकामा यस्तो समस्या देखिएको छ । कुशे गाउँपालिका अधिकांश गाउँमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेलगायत लक्षण देखिएको छ । गाउँमा सबै बिरामी हुँदा हैरान भएको र आफूलाई समेत सन्चो नभएको रातो नेपालीले बताए । ‘गाउँमा कसैको परीक्षण भएको छैन’, नेपालीले भने । त्यस्तै नलगाड नगरपालिकाको कैना, टट्टा, हल्चौर बारेकोटको रामीडाँडा, धौलाकोटलगायत गाउँमा पनि ज्वरोका बिरामीको सङ्ख्या बढिरहेको छ । गाउँभरि शङ्कास्पद बिरामी बढे पनि परीक्षण र उपचार हुन नसकेको हल्चौरका हरिबहादुर खत्रीले बताए । ‘अधिकांशलाई कोरोना भएको आशङ्का छ, तर परीक्षण र उपचार नहुँदा झारफुक र जडीबुटीको उपचारमा भर पर्नुपरेको छ’, उनले भने, ‘कयौँपल्ट जनप्रतिनिधिलाई भनियो तर वास्तै गरेनन् ।’ गाउँमा घरघरै बिरामी भए पनि तातोपानी, जडीबुटी र धामीझाक्रीको झारफुकका भरमा बाँचिरहेको खत्रीले बताए । उनले भने, ‘सबै जना जडीबुटीकै भरमा छौँ, एक/दुई दिन सञ्चो हुन्छ, फेरि बिमार बल्झिएपछि थला पर्नुको विकल्प छैन ।’ परीक्षण गरे गाउँका अधिकांश व्यक्तिमा कोरोना सङ्क्रमण देखिने उनको भनाइ छ । उनका अनुसार सङ्क्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा रहेकालाई समेत परीक्षण गरिएको छैन। एक सातायता दिनहुँ पानी पर्न थालेपछि बिरामी बढिरहेको खत्रीले बताए । उनका अनुसार चौराटाका झण्डै ५० घरधुरीमा बिरामी नभएको घरै छैन । बच्चादेखि वृद्धसम्म बिरामी परेपछि गाउँमा त्रास फैलिएको उनले बताए । ‘न परीक्षण हुन्छ न उपचार’, उनले भने, ‘श्वासप्रश्वासमा समस्या देखिए मर्नुको विकल्प छैन ।’ गाउँभरि ज्वरो, रुघाखोकी र जिउ दुख्ने बिमारका कारण अधिकांश बासिन्दा लखतरान परेको दम्दालाकी भगवती चन्दले बताइन्। ‘गाउँको स्वास्थ्यचौकीमा औषधि पनि छैन, स्वास्थ्यकर्मी पनि भेटिदैनन्’, उनले भनिन्, ‘अब त घरेलु उपचारकै भर छ ।’ स्थानीय सरकारले बिरामीको उपचारमा बेवास्ता गरेको उनको गुनासो छ । जनप्रतिनिधिले भने परीक्षण र उपचारको काम शुरु भएको दाबी गरेका छन् । कोरोना परीक्षण र अन्य स्वास्थ्य समस्याको उपचारका लागि गाउँमा स्वास्थ्यकर्मीको टोली पठाएको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । ‘कोरोना हो कि अन्य भाइरल रोग हो भन्नेबारे एक/दुई दिनमै थाहा हुन्छ’, उनले भने, ‘बिहीबारबाट स्वास्थ्यकर्मीले घरदैलो थालेका छन् ।’ गाउँ–गाउँमा कोरोना सङ्क्रमणको जोखिम बढे पनि कीट तथा जनशक्ति अभाव भन्दै सम्बन्धित निकाय पन्छिने गरेको स्थानीयवासीको आरोप छ । जिल्ला अस्पताल र केही स्थानीय तहका केन्द्रमा मात्र कोरोना परीक्षण भएको छ । कीट अभाव देखाउँदै परीक्षणको दायरा साँघुरो बनाइएकाले अझै धेरै कोरोनाका बिरामी हुनसक्ने आकलन छ । कोरोना सङ्क्रमितलाई परीक्षण नगरी गाउँ पठाउँदा समुदायस्तरमा सङ्क्रमण फैलिएको बताइएको छ । भारतबाट आएका मानिस गाउँ पस्दा सङ्क्रमण फैलिएको छ । वैशाख पहिलो सातादेखि हालसम्म एन्टिजेन विधिबाट एक हजार ४०० जनाको कोरोना परीक्षण गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ५०७ को पिसिआरमार्फत कोरोना परीक्षण भएको हो । पिसिआर रिपोर्ट ढिलो आउँदा र परीक्षण गरिएका मानिस आइसोलेशनमा नबस्दा थप सङ्क्रमण फैलिने खतरा बढेको जिल्ला स्वास्थ्य व्यवस्थापक टीकाराम जैशीले बताए। उनका अनुसार कार्यालयकै पहलमा कीट किन्न खोज्दा पनि काठमाडौँसमेत कीट पाइएन । स्वास्थ्य कार्यालयले प्रदेश सरकारले पठाएका केही कीट स्थानीय तहलाई समेत वितरण गरेको थियो । खरिद गर्न खोज्दा कीट नपाइएपछि परीक्षणको काम प्रभावित भएको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए । पिसिआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणबाट जाजरकोटमा ९०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । करिब ४०० ले कोरोना जितेका छन् । जाजरकोटमा ५०० सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य सेवा व्यवस्थापक जैशीले बताए । उनका अनुसार पछिल्लो समय समुदायस्तरमा स¬ङ्क्रमित बढ्दै गएका छन् । कोराना सङ्क्रमणबाट अहिलेसम्म पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए । यता नलगाड नगरपालिकाले बिरामीको पहिचान गर्न पाँच टोली बनाएर गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । रासस