NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

बालुवाटार ढुक्क, देउवा प्रधानमन्त्री हुन सक्दैनन्

काठमाडौँ । सत्ता राजनीति कसरी अघि बढ्छ ? केही क्षण पछि नै छिनोफानो हुँदैछ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रतिनिधि सभाका १ सय ७१ सांसदमध्ये १ सय ४९ सांसदको बहुमत आफ्ना पक्षमा रहेको हस्ताक्षर बोकेर सरकारको दावी गर्न शीतल निवास पुगेका छन् । यता नेकपा (एमाले) संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी ओली पनि विपक्षी गठबन्धनका नेताहरु नेताहरुभन्दा केहीबेर पहिला शीतल निवास पुगेर एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ सांसद गरी १ सय ५३ जनाको समर्थन आफूलाई रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । देउवाका पक्षमा एमालेकै माधव नेपाल समूहका २७ र जसपाका १४ जना सांसदले हस्ताक्षर गरि दिएका छन् । तर, बहुमत सांसदको हस्ताक्षर बोकेर पनि देउवा प्रधानमन्त्रीमा नियुत्त हुन नसक्ने परिस्थिती सिर्जना हुन लागेको छ । संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपतिले आह्वान गरेको समयभित्र देउवा बहुमत सांसदको हस्ताक्षर सहित सरकारको दावी गर्न शीतल निवास पुगेका थिए । उपधारा ५ मा ‘उपधारा ३ अनुसार नियुत्त प्रधानमन्त्रीले उपधारा ४ अनुसार विस्वासको मत प्राप्त गर्न नसकेमा कुनै सदस्यले संसदमा विस्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने’ व्यवस्था छ । तर ओलीले एमालेका १ सय २१ र जसपाका ३२ सांसदको संख्या पेश गरेपछि कानूनी छिनोफानो झन् पेचिलो बनेको छ । यस्तो अवस्थामा उपधारा ५ अनुसार नियुक्त प्रधानमन्त्रीले विस्वासको मत प्राप्त गर्न सक्ने आधार स्पष्ट हुने नदेखिएको तर्क गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न नसक्ने बालुवाटारको बुझाइ छ । संविधानमै उपधारा ५ अनुसार नियुक्त हुने प्रधानमन्त्रीले विश्वासकाे मत लिन सक्छन् भन्ने आधार राष्ट्रपतिले देख्नुपर्ने र राष्ट्रपतिलाई त्यस्तो विश्वास नलागेमा प्रधानमन्त्रीमा नियुत्त गर्न नसक्ने भन्दै बालुवाटार ढुक्क छ ।