NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नागरिक अध्यादेशमा अत्यासलाग्दो व्यवस्था : सस्तो भो बंशजको नागरिकता, विदेशी बाबुको छोरालाई अंगीकृत नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी हुँदा मधेशमा खुशीयाली मनाइएको छ । तर उक्त अध्यादेशलाई पहाडी र हिमाली भेगका नागरिकले भने शंकाको आँखाले हेरेका छन् । नयाँ अध्यादेशसँगै लाखौँ गैरनेपालीहरुले नागरिकता पाउँछन् कि भन्ने नागरिकको चिन्ता छ । राष्ट्रपतिको कार्यालयले नेपालको नागरिकता ऐन २०६३ मा ७ वटा उपदफा थपेर नागरिकता ऐन संशोधन गरेको हो । यहीँ ७ वुँदा थप गरिएसँगै अंगीकृत नागरिकका सन्तानले वंशजका आधारमा नेपाली नागरिकता लिने बाटो खुल्ला भएको छ । अर्थात नेपाली नागरिकसँग विहे गरेका विदेशी नागरिकका सन्तानले बंशजका आधारमा नागरिकता पाउने भएका हुन् । पहिलो संशोधन : ऐनको दफा ३ को उपदफा ३ मा ‘‘नेपाल सरहदभित्र’’ भन्ने शब्द थियो । अध्यादेशले यो शब्द हटाएर त्यसको सट्टामा ‘‘नेपालभित्र’’ भन्ने शब्द राखेको छ । सोही उपदफामा ‘पितृत्व मातृत्वको’ भन्ने शब्दको सट्टा ‘‘पितृत्व र मातृत्वको’ भन्ने शब्द राखिएको छ । यस्तै दफा ३ को उपदफा ३ पछि नयाँ तीन उपदफा थप गरिएको छ । थप गरिएको उत्त व्यवस्था अनुसार ३ असोज २०७२ सालअघि जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका नागरिकको सन्तानले बंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्न सक्नेछन् । थप गरिएको उपदफा ४ मा ‘संवत् २०७२ असोज ३ गतेअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिकता रहेछन् भने निजको उमेर साह्र बर्ष पुरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।’ भन्ने व्यवस्था गरिएको छ । अध्यादेशमार्फत थप गरिएको व्यवस्था हो, दफा ३ को उपदफा ५ । उपदफा ५ अनुसार अब नेपालको नागरिक आमाबाट नेपालमा जन्म भइ नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ । यसको अर्थ हुन्छ, अंगीकृत, जन्मसिद्ध वा वंशजका आधारमा नेपाली नागरिक प्राप्त महिलाबाट जन्मीएका सन्तानले बाबुको पहिचान नभएपनि नागरिकता प्राप्त गर्न सक्नेछन् । विशेषगरी मधेशमा भारतबाट विवाह गरेर नेपाल आएका, अंगीकृत नागरिकता पाएकाहरुका सन्तानले पनि वंंशजका आधारमा नागरिकता पाउनेछन् । यसअघि यस्ता सन्तानले जन्मका आधारमा नागरिकता पाउने व्यवस्था थियो । यस्तै ऐनको दफा ३ मा उपदफा ६ पनि थपिएको छ । उक्त व्यवस्था अनुसार विदेशी बाबुको सन्तानले उपदफा ५ अनुसार वंशजको आधारमा नेपाली नागरिकता लिएको पाइएमा उसको नागरिकता अंगीकृत नागरिकतामा परिणत हुनेछ । थप गरिएको उपदफा ६ मा भनिएको छ, ‘उपदफा ५ बमोजिम नागरिकता प्राप्त गरेको कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम रहने छैन र निजको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी तोकिएबमोजिम स्वघोषणा गरेमा निजको नागरिकतालाई अंगीकृत नागरिकतामा परिणत गरिनेछ ।’ यससँगै अब भारतीय नागरिकताको सन्तानले पनि नेपाली नागरिकता पाउने घुमाउरो बाटो खुलेको छ । यस्तै सरकारले अध्यादेशमार्फत ऐनको दफा ८ मा पनि संशोधन गरेको छ । दफा ८ को उपदफा १ को खण्ड १ को उपखण्ड क पछि उपखण्ड क१ थप गरेको छ । थप गरिएको उपखण्ड क१ मा नेपाली नागरिक आमाले विदेशी बाबुसँग विहे गरेर जन्मिएको बच्चाले पनि नेपाली नागरिकता पाउन सक्नेछन् । उक्त व्यवस्थामा यस्तो भनिएको छ, ‘क१ नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निज र निजको आमाले तोकिएबमोजिम स्वघोषणा गरेमा,तर निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस् ठेगानमा नरहेको अवस्थामा सोको प्रमाणसहित निवेदकले गरेको स्वघोषणा संलग्न गर्नुपर्नेछ ।’’ दफा ८ को उपदफा २ को खण्ड १ पनि उपदफा १क थपिएको छ । उक्त थप गरिएको व्यवस्था अनुसार ‘ जुनसुकै कुरा लेखिएको भएतापनि दफा ३ को उपदफा ४ बमोजिम नागरिकताको प्रमाणपत्र लिन निवेदन दिँदा बाबु र आमा दुवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।’