NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

रुकुमपूर्वमा यार्सा सङ्कलनमा रोक लगाइयो

रुकुमपूर्व । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले यस वर्ष यार्सा सङ्कलनमा रोक लगाउन निर्देशन दिएको छ । कोरोना सङ्क्रमण फैलिरहेकाले यस बेलामा यार्सा सङ्कलन खुला गर्दा सङ्क्रमणको जोखिम झन उच्च हुने भएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो । रुकुमपूर्व सहित यार्सा पाईने छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जुम मिटिङबाट यस वर्ष पनि यार्सा सङ्कलनमा रोक लगाउने सहमति भएको यस जिल्लाका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए । कोरोना महामारी फैलिरहेको यो अवस्थामा एउटा जिल्लाले मात्र रोक लगाएर नहुँने भन्दै यार्सा पाइने छिमेकी जिल्लामा पनि रोक लगाउने सहमति भएको उनले बताए । कोरोना महामारीकै कारण गत वर्ष पनि यार्सा सङ्कलनमा रोक लगाइएको थियो । कोरोनाबाट बच्न भन्दै यार्सा सङ्कलनमा रोक लगाइरहँदा यसबाट जिविकोपार्जन गर्दै आएकाको भने रोजिरोटि खोसिएको छ । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१ र २ नम्बर वडाका बुकी पाटनमा यार्सा पाइँने गर्दछ । प्रत्येक वर्षको जेठको दोस्रो हप्ताबाट शुरु भएर असारको दोस्रो हप्तासम्म चल्ने गरेको यार्सा सिजन गत वर्ष र यस वर्ष भने ठप्पै छ । डिभिजन वन कार्यालय रुकुमपूर्वले भने रोक लगाउनुभन्दा अगाडि नै केही परिमाण यार्सा सङ्कलनको पुर्जी दिइसकेको छ । दुई साता अगाडि नै सात किलोको सङ्कलन पुर्जी दिएको वन कार्यालयका सहायक वन अधिकृत सूर्य मैनालीले जानकारी दिए । त्यो भन्दा पछाडि कसैलाई पनि यार्सा सङ्कलन पुर्जी नदिएको उनले बताए। गत वर्ष र यस वर्ष यार्सा सङ्कलनमा रोक लगाउँदा विशेष गरी पुथाउत्तरगङ्गा गाउँपालिकाका स्थानीयवासी समस्यामा परेका छन् ।