सार्वजनिक जीवन र सदाचार : स्वास्थ्य गुमायौं भने केही गुम्छ तर सदाचार गुमायौं भने सवैथोक गुम्छ’ - Nepal Watch Nepal Watch

विचार

जेष्ठ १८, २०७८ मंगलबार


सार्वजनिक जीवन र सदाचार : स्वास्थ्य गुमायौं भने केही गुम्छ तर सदाचार गुमायौं भने सवैथोक गुम्छ’


‘यदि तिमीले सम्पति गुमायौ भने खास केही गुम्दैन, स्वास्थ्य गुमायौं भने केही गुम्छ तर सदाचार गुमायौं भने सवैथोक गुम्छ’ । सम्पति कमाउन सकिन्छ, स्वास्थ्य उपचार गर्न सकिन्छ तर गएको आचरण कमाउन पनि सकिन्न । दूराचारले कारक मात्र प्रताडित हुदैन, समाजलाई नै विगार्छ । गीतामा भगवान श्रीकृष्णले शास्त्र (नीति), कर्म (काम) र धर्म (आचरण) बाट मानव जीवनले सिद्धि प्राप्त गर्छ भनेका थिए । बास्तवमा मानव समाज नीति, कर्म र आचरणबाट चल्ने हो ।

सदाचार व्यक्तिको विवेक वा अन्तरात्मामा छिपेर रहने त्यस्तो शक्ति हो, जसले व्यक्तिलाई गलत काम नगर्न सचेत गराउँछ । सदाचारी मानिसहरु अन्तरात्माको यही आवाजका कारण स्वार्थ, लोभ, लालसा, आग्रह जस्ता कमजोरीसंग सम्झौता गर्दैनन् । स्वार्थ, लोभ, लालसा, आशक्ति, उग्र अभिष्ट, आग्रह आदिलाई दवाउने सामथ्र्य वा अन्तरमूल्य नै सदाचारको जग हो ।

कसैले के भन्छ भन्दा पनि के गर्छ र उसप्रति के भनिन्छ भन्ने पक्ष महत्तम हुन्छ सदाचार संस्कृतिमा । कहिलेकाही सत्य र उचित कामका लागि परिवेश, समुदाय, समूहमा व्यक्ति एक्लै उभिने साहसमा रहनसक्नु पर्छ । किनकी सदाचार सत्चरित्र हो, सत्चरित्रभन्दा दुस्चरित्रको फैलावट र क्षणिक शक्ति बढी हुन्छ । सदाचारको संस्कृति नवसेकोको समाजमा पद, पैसा, प्रतिष्ठा र प्रेमको उग्र आशक्तिमा व्यक्ति दुराचारी बन्ने गर्छ र सदाचार छाँयामा पर्छ ।

महात्मा गान्धीले परिश्रमविनाको धन र चरित्रविनाको ज्ञानलाई पाप मानेका छन् । अनुशासन र इमान्दारिताको सीमा लालसा, लोभ र आग्रहले भत्काउ छ, यसको विपरीत इमान्दारिता, अनुशासनलाई सदाचारले उर्जा दिन्छ । असल बुझाइ, असल विचार र असल कार्यले नै असल नतिजा प्राप्ति हुन्छ ।

यो नै समाजको विवेकशील पुननिर्माणको प्रक्रिया हो, मानव सभ्यतामा इट्टा यसैबाट थपिदै जान्छ । वैयक्तिक स्वार्थ र लोभलाई सामूहिक फाइदामा समर्पण गर्ने शक्ति नै यही असल मानसिकता र असल आचरण हो, त्यो नै सदाचार हो । सार्वजनिक जीवनमा सदाचार (व्यावसायिक सदाचार) को अपेक्षा औधी हुन्छ र जिम्मेवारीमा रहनेहरुबाट नै सदाचारको अपेक्षा गरिन्छ ।

विद्वान पिटर ड्रकरले भनेका छन् ‘व्यवस्थापनले राम्रो गर्ने हो, नेतृत्वले असल कार्यमात्र गर्ने हो’। मानिसहरु ठूलाले के भने भनेर वास्ता गर्दैनन्, के चाहि गरे भनेर सम्झिरहन्छन् । महान व्यक्ति र असल समाज भनेर होइन, गरेर महान वा असल बन्ने हो । महानता चाहेर पाइन्न, कर्म र समर्पणले निर्माण गर्छ ।

बोली र व्यवहार, मूल्य र सिद्धान्तसंग मेल खाएमात्र सदाचारिता भेटिन्छ । अर्थात सार्वजनिक जीवनमा रहनेहरु सर्वसाधारणका हित विमुख रहन सक्तैनन्, यसभन्दा बढी सदाचारको अर्थ बा बुझाइ रहदैन । दूराचार सत्य (मूल्य) बाट टाढा रहन्छ । दूराचार गराइबाट मात्र होइन, सोचाइ, बुझाइ, हेराइ, देखाइमा पनि हुने गर्दछ । कसैलाई ‘इमोशनल इन्जुरी’ पार्नु पनि बेइमानी हो, सदाचारिता विमुखको काम हो ।

विश्वासिलो, नैतिक सदाचारी बन्नु नैतिक संस्थाको कत्र्तव्य हो, नैतिक संस्था नैतिक पात्रहरुको कत्र्तव्यको परिणाम हो । तर समाजमासदाचारभन्दा दूराचारको संस्कृति छिटो निर्माण हुन्छ, विस्तार छिटो हुन्छ । दूराचार संस्कृति संस्थागत भएको समाजमा सदाचार निर्माण गर्न धर्मयुद्ध जस्तै कठिन हुन्छ ।

समाज व्यक्तिबादी सोचको हावी छ । व्यक्ति सेवा, श्रम, सीप, साधना र सत्कर्ममा भन्दा क्षणिक स्वार्थ र लालसमा दौडिइ रहेको छ । पद, प्रतिष्ठा, पैसा र प्रभुत्वको उग्र आशक्ति हुर्किएको छ । जिम्मेवारीलाई अवसरका रुपमा लिने प्रवृत्ति मौलाएको छ । अवसरका उछिनापछिनमा रिस, राग र द्वेष हुर्किएको छ । प्रत्येक पेशामा व्यावसायिक मूल्य होइन, अस्वस्थ प्रतिस्पर्धा र अनपेक्षित उछिनापछिन छ ।

प्रत्येक पेशामा व्यावसायिक सदाचारमा लागि प्रतिस्पर्धा हुनसके मात्र पेशा अव्वल हुन्छ, जिम्मेवारी निखारिन्छ र संस्थाहरु नैतिक बन्दछन् । व्यावसायिक धर्म नभित्रिएको प्रतिस्पर्धाले कला, राजनीति, सार्वजनिक सेवा, समाज सेवा, पत्रकारिता, न्याय सम्पादान र अरु विधाहरु सवै नै मूल्यबाट पर पुग्दैछन् ।

सामाजिक प्रणालीको पहिलो तत्व व्यक्ति हो । व्यक्ति असल नभए परिवार असल बन्दैन । व्यक्ति राम्रो बनाउने पहिलो पाठशाला परिवार हो । परिवार पाठशाला मात्र पनि होइन, असल स्वभाव निर्माणका लागि कार्यशाला नै हो । सत्कर्मी आमाबुवाबाट नै सत्कर्मी सन्तानको निर्माण हुन्छ ।

परिवार सवैभन्दा शक्तिशाली सामाजिक संगठन हो । परिवारले ब्यक्तिलाई दिएको शिक्षा, सामाजिकता, संस्कार र सिकाएका कुराहरुबाट नै समुदाय, समाज र सङ्गठन समृद्ध बन्ने हो । सदाचार, अहिंसा, माया, संस्कार, व्यवहार सवै नै परिवारको पाठशालाबाट सिकिने विषय हुन् ।

ब्यक्तिवादी सोच, स्वार्थ, आग्रह, इर्ष्या, द्वेषजस्ता कुलतको हावी हुँदा समाजमा मानवीय मूल्य, असल सोच, सत्कर्म किनारा पर्छन्। क्षणिक उपलव्धि र प्राप्तिका लागि आत्मिकता र सास्वत पक्षलाई पाखामा पारिन्छ । जव व्यक्ति आत्मिक चेतबाट च्यूत हुन्छ, पाप–धर्म, नैतिक–अनैतिक, उचित–अनुचित परिगेल्नेतर्फ लाग्दैन, फगत आफूकेन्द्रित हुन्छ ।

मूल्य र मानकहरु भत्काउन थाल्छ ।उसका व्यवहारहरु आफ्नै सुख सयलका लागि हुने गर्दछन् । त्यसको प्रभाव समाज, समुदाय हुदै सार्वजनिक सङ्गठनसम्म फैलिन पुग्छ र प्रणालीहीन अवस्था सिर्जना हुन्छ ।

नकारात्मकताको हावी हुन्छ । प्रावधानमात्र हुने तर प्रणाली नहुने, जिम्मेवारी तोकिने तर अकमर्णता देखिने, क्षमता हुने तर उपयोग नहुने, सङ्गठन हुने तर संस्थागत उदासिनता हुने, ज्ञान हुने तर आत्मिक चेतना नहुने स्थितिमा समाजले गुमाउने मात्र गर्दछ । सर्वत्र मूल्य स्खलित भएपछि नीति, कानून, दण्डविधानजस्ता औपचारिक पक्षहरु निर्वल हुन्छन् र समाजले विनिर्माणको माग गर्दछ, विवेकशील विनिर्माणको माग ।

घर घरबाट नै असल अभियान थाल्नुपर्छ । बैयक्तिक निर्णय वा व्यवहारलाई नैतिक मूल्य र मानकले प्रभाव पार्छ । ब्यक्तिगत तहमा स्पष्ट आचार विधि निर्धारण भएपछि नै समाज र संस्था निर्माण गर्न सकिने हो । व्यक्ति खुला र इमान्दार बन्ने हो, कुनै कुरा नलुकाउने र दृढ बन्ने हो, सदाचारी बन्ने हो, ल्याकत अनुसार जिम्मेवारी पाउने हो । त्यसपछि ब्यक्तिलाई नराम्रो सोच्न, गर्न र भन्न विवेकले इजाजत नै दिदैन । सबै परिवेशमा व्यक्ति अनुशासित, आत्मसंयमी र इमान्दार बन्छ । सकारात्मक बन्छ ।

मूल्य र आदर्शका अनुयायी नै सदाचारी हुन् । सदाचारीहरु भन्न होइन, गर्न रुचाउछन् । बाहबाही र प्रचार कत्ति पनि रमाउदैनन् । नोलान कमिशनले सार्वजनिक जीवनका सात सिद्धान्तहरुमा सदाचारलाई महत्वका साथ प्राथमिकतामा राखेको छ । उसले भनेको छ सार्वजनिक पदाधिकारीले काम गर्दा वैयक्तिक लोभ, लालच र स्वार्थवाट अलग रहनु पर्दछ । जसले व्यावसायिक जीवनमा यो मानक अपनाउन सक्दैन, उसले आफ्नो जिम्मेवारी र पदप्रति न्याय गर्दैन । सेवाग्राही र सर्वसाधारणको विश्वास जित्दैन । र अन्तत: आफ्नै विवेकप्रति पनि न्याय गर्दैन ।

व्यक्तिलाई सदाचारबाट च्यूत बनाउने कारकहरु छन् ।लोभ नै त्यसको मूल जड हो, पैसाप्रतिको लोभ, पदप्रतिको लोभ, पावरप्रतिको लोभ, प्रभुत्व जमाउने लोभ र प्रेमप्रतिको लोभ । कानूनका छिद्र, शक्ति र तजविजी अधिकारको प्रयोग गरेर ओहोदाधारीहरु लोभ (उग्र अभिष्ट) पूरा गर्दछन् । सार्वजनिक साधन र सम्पत्तिमाथि र्‍याल काड्छन् । नाता र आफन्तको प्रभावमा उनीहरुको लोभ पूरा पर्छन् ।

प्रशासनिक जानकारी र सूचनाको चुहावट गरी संस्थालाई हानी गरी आफ्ना र आफन्तका लोभ पूरा गर्दछन् । निष्पक्ष काम गर्नुपर्ने जिम्मेवारीका व्यक्तिहरु विचार, आस्था र आग्रहमा विभाजित भएर लोभ पूरा गर्दछन् । संस्था क्षयीकरण गर्छन् । निष्पक्षता नैतिकता पनि हो संस्थाको । त्यो नै भुलेपछि न्याय निष्पादन नै हुदैन । कर्मनै निष्ठा र आचरण हो भन्नुपर्ने कर्मचारी अतिबृत्तिवादी प्रवृत्तिमा लिप्त भै बृत्ति लोभमा रमाउन पुग्छन् ।

प्रशासनिक सौदावाजीले लोभको माखेसांग्लो नै गुथिएर राजनीति र प्रशासनको कोठरी बन्छ, व्यापारी–कर्मचारी–राजनीतिज्ञको माखेसाङ्लोले क्रोनिज बनाउन सक्छ ।

लोभले पाप जन्माउछ । यसर्थ संस्थाहरु आदर्श बनाउन लोभ लालसालाई त्याग्नसक्ने शक्ति जरुरी छ । सत्य, विवेक, कत्र्तव्य, स्वयम् उत्साह, दृढता जस्ता सद्गुण भित्र्याउन नागरिक शिक्षा र सामाजिक अभिमुखीकरण नै आवश्यक भैसक्यो । सामाजिक भावनाप्रति समर्पित, सार्वजनिक भावनाप्रति समर्पित, राष्ट्रिय भावनाप्रति समर्पित संस्कृति निर्माण गर्न सामाजिक अभियान नै चाहिन्छ । प्रत्येक व्यक्तिको डिएनए नै परिवर्तन गर्न जरुरी छ ।

परिवार, विद्यालय, समुदाय जतासुकै मानव मूल्य, दर्शन, परम्परा र संस्कृति, नैतिक आचरणको अभियान नै चलाउनु पर्दछ, सबैलाई स्वनियमन र आत्मिक निष्ठामा पुर्‍याउनु पर्छ । यो काम अरुबाट अपेक्षा गर्नुअघि आफूबाट थाल्ने प्रण गरेमात्र पनि मानव सभ्यताका लागि ठूलो योगदान हुनपुग्छ ।

अनिमात्र कर्ममा विश्वास गर्ने समाज, ज्ञान सीप र क्षमताको अतिउत्तम उपयोग गर्ने कर्मचारी, नीति नेतृत्व दिने नेता, उद्यम साधनामा आर्जन गर्ने व्यवसायी पाइन सकिन्छ । त्यसपछि गल्ती अरुको मात्र देख्ने होइन, आफैबाट सुधार शुरु गर्ने संस्कृति निर्माण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्