NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बढ्याे आर्यघाटकाे शुल्क, शव जलाएकाे १७ हजार

धनुषामा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाकाे शव जलाउन चर्काे शुल्क तिर्नुपरेकाे छ। जनकपुरधामस्थित स्वर्गद्वारी (आर्यघाट) मा एउटा शव जलाउनका लागि १५ देखि १७ हजारसम्म बुझाउनुपरेको गुनासो पीडितको छ । जनकपुर–१६ का एक व्यक्तिले स्वर्गद्वारीमा बुवाको शव व्यवस्थापन गर्न जाँदा १५ हजार तिर्नुपरेको बताए। ‘अस्पतालमा बुवाको उपचारका लागि लाखौँ खर्च ग-यौँ । तर बुवालाई बचाउन सकिएन, कोरोनाले बुवालाई लिएर गयो । अन्तिममा दाहसंस्कार गर्दासमेत चर्को शुल्क तिर्नुप-यो,’ उनले भने। जनकपुरधामस्थित स्वर्गद्वारीले शव व्यस्थापनका लागि दाउरालगायत सामग्रीको नाममा प्रति शव १४ देखि १७ हजार लिने गरेको पाइएको छ । स्वर्गद्वारीको ठेक्का लिएका जनकपुरका जबाहर शर्माले उक्त दरको रकम लिएको स्वीकार गरे। शर्माले समान्य दिनमा बढीमा १० हजारसम्म शुल्क लिने गरे पनि अहिले अलि महँगाे लिएकाे बताए। ‘कोरोनाकालमा सबै सामग्री महँगाे छ। दाउरा पाइरहेको छैन, गाउँगाउँ डुलेर दाउरा जोहो गर्नुपर्छ, खर पनि सबै ठाउँमा पाइँदैन, फेरि कोरोनाबाट मृत्यु भएको शव व्यवस्थापन गर्ने काम पनि त्यत्तिकै जोखिमपूर्ण छ । त्यसकारण अहिले सामान्य दिनभन्दा अलि बढी रकम लिनुपर्ने बाध्यता छ,’ उनले भने। मानवअधिकारकर्मी तथा इन्सेकका प्रदेश २ संयोजक राजु पासवानले यस्तो विपत्का बेला शव व्यवस्थापन जिम्मा राज्यले लिनुपर्ने बताए। रासस