NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

गृह मन्त्रालयले भन्यो, ‘बाँके घटना गैरकानूनी हो, दोषीमाथि कारबाही हुन्छ’

काठमाडाैं । गृह मन्त्रालयले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोटमा संलग्नलाई कानूनी कारबाही गरिने बताएको छ । उक्त कार्य गैरजिम्मेवार र गैरकानूनी भएको भन्दै मन्त्रालयले दोषीमाथि कारबाही हुने बताएको हो । शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मी कुटपिटमा संलग्न जो सुकै पनि भए पनि तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न प्रतिबद्ध रहेको बताएको छ । गृह प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो ।’ बिहीबार राति भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो, घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परिसकेका छन् । बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ । उक्त घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति गठन भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शंरक बहादुर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको हो । चिकित्सकमाथि आक्रमण गर्ने समूहलाई कारबाहीको माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । अस्पताल परिसरमा भेला भएर उनीहरुले प्रदर्शन गरेका हुन् । यसैबीच, मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । महामारीको विषम परिस्थितिमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण बढेको भन्दै गृहले सुरक्षामा ध्यान दिन निर्देशन दिएको हो ।