स्वर्गद्वारी दुर्घटनामा भगवानसँग गुनासो - Nepal Watch Nepal Watch

विचार

जेष्ठ २१, २०७८ शुक्रबार


स्वर्गद्वारी दुर्घटनामा भगवानसँग गुनासो


भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा, त्यो बिन्ति मान्दैन त्यो ।
राजा रङ्क सबै समान उसका बैषम्य गर्दैन त्यो
आयो टप्प टिप्यो लग्यो, मिति पुग्यो टारेर टर्दैन त्यो ।
लाखौं औषधि, अस्त्र–शस्त्र–महिमा देखेर डदैँन त्यो
व्याधा–तुल्य लुकेर चल्दछ सदा, मारेर मर्दैन त्यो ।

कवि लेखनाथ पौडेलले भनेजस्तै कसैको मृत्यु कसैले चाहेर वा नचाहेरै हुने कुरा पक्कै नै होइन । यो संसारमा जन्म लिएपश्चात मृत्यु कसैको वशमा हुँदैन । मृत्यु कसैले टारेर नटर्ने धुर्वसत्य हो । लाग्छ, भावीले कसको निधारमा के लेखेर पठाएको हुन्छ त्यसैलाई स्वीकार गर्न हामी सबै बाध्य छौं । दैवको योजना बमोजिम नै भएको हो सायद ।

नयाँ वर्षको उमंगलाई अझै उल्लासमय बनाउने योजनासहित छिमेकी जिल्ला प्यूठानको स्वर्गद्वारी दर्शन गर्नको लागि लम्केका पाईला सधैको लागि अन्त्य भयो । नयाँ वर्षको दिन भगवानको दर्शन गर्न जानुलाई कसरी पो नाजायाज भन्न सकिन्थ्यो र ! पबित्र मनसहित भगवानको दर्शनको लागि हिँडेको मौका पारेर भगवानले स्वर्गको द्वारबाट टपक्कै टिपेर स्वर्गको यात्रातर्फ लगेछन् । सबैलाई कहाँ पो जुर्छ स्वर्गको द्वारमा गई बह्मलिन हुने । स्वर्गद्वारी घटनामार्फत ब्रह्मलिन हुनुभएका हजुरहरुले स्वर्गको द्वारमा प्राण त्याग गरी मुक्ति प्राप्त गर्नुभयो ।

यो दुर्घटनाले राष्ट्रका लागि केही गर्ने दृढ इच्छा र उच्च मनोबल भएका राष्ट्रसेवकहरुलाई सदासदाको लागि बिदाई गर्न बाध्य बनायो ।

त्यस दिनको बिर्सन नसकिने कहालीलाग्दो घटनाले जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकीय अधिकृतको रुपमा कार्यरत ज्वाईं श्याम न्यौपानेलाई अल्पायुमै गुमाउन हामी बाध्य भएका छौ । नयाँ वर्षको शुभकामना साटासाट गरिराखेको उल्लासमय समयमा एक्कासी बहिनीले गुल्मीबाट फोन गरी ज्वाईं सवार भएको गाडी स्वर्गद्वारी नजिकै दुर्घटनामा परेको र खुट्टा भाँचिएको भन्ने खबर आएको भन्ने सुन्दा छाँगाबाट खसेजस्तै भएँ । मनमनै सकारात्मक भावबाट सोचे ।

त्यस्तो नराम्रो नहोला सामान्य घाइते मात्रै भएको र खुट्टा भाँचिएको त निको भइहाल्छ नि भन्दै बहिनीलाई सान्त्वना दिँदै धेरैपटक ज्वाईंलाई फोन गरेँ तर उठेन । जिल्ला प्रशासन कार्यालय गुल्मी र त्यता भएका अन्य साथीहरुसँग दुर्घटनाको बारेमा सोध्दा धेरैजनाले मेरो ज्वाईंसँगको नाता थाहा पाएकोले होला सीधै साँचो विवरण बताउन चाहनुभएन । त्यसलगत्तै प्युठान जिल्लाको जिल्ला प्रशासन कार्यालयको वेवसाइट हेर्दा सहायक सिडियोमा यज्ञराज अर्यालको नाम देखें र पुरानो चिनजानको आधारमा उहाँलाई फोन गरें ।

प्यूठान दुर्घटनामा ज्यान गुमाएका जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकीय अधिकृत श्याम न्याैपाने

तर, जे नहोस् भन्ने कामनासहित फोन गरेको थिएँ पहिलो समाचार नै त्यही सुन्नुप¥यो । नचाहेरै पनि विवश भई त्यस दिन साँझसम्म पनि मन दह्रो बनाउँदै केही थाहा नभएको अबोध बालकजस्तै गरी बहिनी तथा बुवा आमालाई दुर्घटना भएको तर ज्वाईं सामान्य घाइते मात्र भएको भन्दै बनावटी कुरा गरिरहे । सामाजिक सञ्जालका भित्तामा जताततै तस्बिर सहित श्रदाञ्जलीका सन्देशहरु छाइराखेको देख्दा आफैं सम्हालिन गाह्रो भएको बेलामा केही नभए जसरी राती अबेरसम्म अनेक बहाना बनाउँदै ढाँटेर बोल्नै साह्रै गाह्रो हुँदोरहेछ ।

उक्त घटनापश्चात हर्ष र उल्लाषको रुपमा मनाइने वर्षको पहिलो दिन हामीलाई सधैंका लागि कालो दिनका रुपमा दर्ज भयो । त्यस पश्चातको समयको बारेमा अहिले कल्पनासम्म पनि गर्न गाह्रो हुन्छ ।

केही वर्षअघि हरिबंश आचार्य र कृष्ण धाराबासीका धर्मपत्नीहरुको एकैजसो समयमा मृत्यु भएपश्चात उहाँहरु बीच भएको सवालजवाफ राष्ट्रिय साप्ताहिकमा पढेको थिएँ । अहिले आएर त्यो अनुभुति गरें ।

मान्छेलाई परेपछि मात्रै बोध हुँदोरहेछ । अरुलाई पर्दा यस्तै हो सुखदुःख मान्छेलाई नै त पर्दछ चित्त बुझाउनुपर्छ भनेर सम्झाइबुझाइ गथ्र्यौं । तर, आफैंलाई पर्दा मन बुझाउन गाह्रो हुँदोरहेछ, एकान्तमा हुँदा रुन मन लाग्दोरहेछ । त्यसैले जति मन लाग्छ रुवौं साथी जति रोयो त्यति मन हलुका हुन्छ भनेको दुवै जनाको संवाद वास्तविक रहेछ भनेर मनन गरें ।

अरुलाई सम्झाउनेबुझाउने र जिम्मेबारी बोध गर्नुपर्ने मान्छे अरुको नजरमा कमजोर देखिन पनि कहाँ पाइँदोरहेछ र ! अरुलाई देखाउन र सम्झाउनको लागि समेत चाडैं नै सम्हालिएको नाटक गर्नुपर्ने रहेछ । सहज मृत्यु भएको भए मृत्युलाई स्वीकार गर्न पनि सहज नै हुने थियो, तर अनेक विकल्पकाबीच भएको मृत्युलाई स्वीकार्न पनि त्यति नै असहज हुँदोरहेछ ।

बहिनीलाई दुःख परेको बेला दाजुभाई गएर सम्झाइबुझाइ गर्नुपर्ने बेलामा माइती पक्षका देखिन नहुने सामाजिक मुल्य मान्यताका कारण घरमा नै नगए पनि १२ औं दिनको पुण्यतिथि सम्म निरन्तर जसो घर नजिकैको मन्दिरमा गई दिनभरी जसो बसी मनको बह साटासाट गरी फर्किने गथ्र्यौं ।

तिर्खा लाग्दा पानी र भोक लाग्दा भोजन खाएजस्तै मनलाई हलुका पार्न धीत मरुन्जेल रुन पर्दोरहेछ भन्ने बोध पनि त्यतिबेलै भएको थियो ।
ज्वाईं जति दिन यस संसारमा जिवित हुनुभयो सार्थक जीवन विताउनु भयो । कसैलाई नि नराम्रो गर्नुभएन । कुनै कदम चाल्नुपर्दा नि कसैलाई असहज हुन्छ कि भनेर सय पटक सोचेर मात्रै कार्य गर्नुहुन्थ्यो र त अहिले हजुरको मृत्युमा नरुने र दुखी नहुने कोही देखिएनन् ।

कवि जेवी टुहुरेले भनेझैं मृत्यु पनि मान्छेपिच्छे फरक हुँदोरहेछ । हजुरको अन्तिम संस्कार र त्यसपश्चातका १२ औं दिनसम्मका देशका विभिन्न ठाउँहरुबाट प्रत्यक्ष भौतिक उपस्थिति, फोन र सामाजिक सञ्जालहरु मार्फत तथा अप्रत्यक्ष रुपमा प्राप्त समवेदना सन्देशबाट समेत हजुरको मृत्युको प्रभाव सहजै मापन गर्न सकिन्थ्यो ।

हजुरसँगै २०७३ सालमा शाखा अधिकृतमा सिफारिस ३१ औं ब्याजका साथीहरुद्वारा प्रेषित समवेदना सन्देशमा लिखित एक वाक्य अहिले पनि झलझलती याद आइराखेको छ, ‘राधेय कर्णजस्तो अतुलनीय मित्र गुमाउनुपर्दा हामीहरुलाई साह्रै पीडाबोध भइराखेको छ’ । हो, पक्कै पनि पाँच पाण्डवहरुमा भएको गुण एक्लै कर्णमा भए जस्तै हजुरमा पनि त्यस्तै गुण थियो र त साथीहरुले भनेजस्तै हजुर हामी सबैको लागि समेत राधेय कर्ण जस्तै हुनुहुन्थ्यो ।

हो, पक्कै पनि थानपति अंकलले प्यारो भतिज श्याम न्यौपानेलाई नेपाल सरकारको सचिव बनाउने धोको अधुरै रह्यो भन्नु भएझैं मलाई पनि त्यो अनुभूति भइराखेको छ । आफ्नो पदिय मर्यादा बमोजिम प्राप्त गर्ने सेवा सुविधामा समेत चासो नदिने र कार्यालय समयपश्चात ढिला भए पनि सेवाग्राहीको कार्य सम्पादन गर्न रुचाउने हजुरको स्वभाव नै थियो ।

शाखा अधिकृतमा सिफारिस भएको केही दिनमा नै त्यसभन्दा पाँच वर्षअघि २०६८ सालमा नेपाल टेलिकमले लिएको लेखा अधिकृतको लिखित परिक्षाको नतिजा प्रकाशन गरेको थियो र त्यसमा चाँर जना मागेकोमा दुई जनाले मात्र लिखित परिक्षा उत्तिर्ण गरेकोमा ज्वाईंलेसमेत नाम निकाल्नु भएको थियो ।

आर्थिक पक्षबाट राम्रो हुने, त्यति सरुवाको तनाव पनि नहुने भएकोले मैले टेलिकमको जागिर ठिक पो हुन्छ कि भनेर सल्लाह दिँदा हैन दाई म पढ्न सक्छु जस्तो लाग्छ त्यसैले निजामतिमा वृति विकासको अवसरसमेत बढी हुने हुँदा सचिवसम्म पुग्न सकिने सम्भावना भएकोले शाखा अधिकृतमा नै नियुक्ति लिन्छु भन्नुभएको हिजोजस्तै लागेको छ । सायद त्यो दिन टाढा नि थिएन होला ।

भेटघाटको समयमा समेत अन्य अनौपचारिक कुराकानी भन्दा पनि पढाइको कुरा गर्ने र त्यसलाई सुक्ष्म विश्लेषण गर्ने हजुरको व्यवहारलेसमेत अंकलले देखेको सपना टाढा थिएन । गत चैत्र महिनामा मलाई फोन गरी दाई अब त उपसचिबको लागि आन्तरिक प्रतिस्पर्धामा पनि परिक्षा दिने बेला हुन लाग्यो हजुरसँग भएका उप–सचिबको तयारी सामग्री भए पठाइदिनु न भन्नुभएको थियो र म पठाएको पनि थिएँ । अब हजुरले कहिल्यै मसँग ती सामग्री माग्नु हुनेछैन र म पनि पठाउने छैन, सोच्दै गर्दा मन त्यसै खिन्न हुन्छ ।

सायद भावीले छैठौं दिनमा यति छोटो आयु लेखिदएको रहेछ र पो हजुरले आफ्नो पूरा जागिरको अवकाशको बेलासम्ममा लिने कार्य अनुभव यति छोटो समयमा नै लिइसक्नु भएको रहेछ । गलकोट मावि जिमुहा, स्याङ्जामा शिक्षण पेशामार्फत शुरु गरेर नेपाल बंैक लिमिटेड हुँदै शाखा अधिकृतको रुपमा निजामती सेवा प्रवेश गर्दै छोटो समयमा धेरै अनुभव लिनुभयो ।

जिल्ला प्रशासन कार्यालय दैलेख , थुलुङ दुधकोशी गाउपालिका सोलुखुम्बु, गंगा जमुना गाउपालिका धादिङ, डुडुँवा गाउपालिका बाँके, गल्याङ नगरपालिका स्याङ्जा, भूमि व्यवस्थापन तथा अभिलेख विभाग बबरमहल, मालपोत कार्यालय गुल्मी र जिल्ला प्रशासन कार्यालय, गुल्मीसम्म आइपुग्दा राष्ट्र सेवक कर्मचारीले गर्नुपर्ने कर्तव्य, दायित्व सबै पूरा गर्नुभएको थियो ।

छोटो समयमा लामो प्रशासनिक अनुभव लिँदै यस संसारबाट विदा हुनुभयो । छोटो आयु लिएर आउनु भएको रहेछ र त छोटो समयमै धेरैको मन जित्न सफल हुनुभयो । हजुरमा कुनै स्वार्थ थिएन, थियो त केवल सेवाको भाव थियो, सबैको उन्नति प्रगति चाहनुहुन्थ्यो र त समाजले आज हजुरलाई मनैदेखि आदर्शको रूपमा लिएका छन् । काम गर्ने ढृढ इच्छा भएमा मन जित्नेगरी काम गर्न सकिने रहेछ भन्ने उदाहरण दिएर जानुभएको छ ।

थाहा छैन जिन्दगी कति लामो छ भनेर तर जति बाँच्नु भयो ज्वाईं सबैको मन जितेरै बाँच्नुभयो । राम्रो मान्छेलाई भगवान् ले पनि छिटो नै आफ्नो बनाउँदो रहेछन । सोच्दै गर्दा लाग्छ दैवले पनि मानवीय स्वभाव जस्तै राम्रैलाई छनोट गर्दाे रहेछ । कुनै संस्थाले आफूलाई आवश्यक पर्ने जनशक्ति छनोट गर्नुपर्‍यो भने प्रतिस्पर्धात्मक तरिकाले सबैभन्दा राम्रो र उत्तम प्रतिस्पर्धीलाई छनोट गर्दछन् । त्यस्तै कुनै मान्छे जंगलमा लौरो काट्न गयो भने बाङ्गोटिङ्गो, नराम्रो छान्दैनन र पक्कै नि राम्रै नै छान्ने गर्दछन् । दैवको स्वभाव पनि त्यस्तै रहेछ र राम्रोमध्येबाट पनि राम्रो छानेर लैजाने गर्दोेरहेछ ।

सायद भगवानलाई पनि राम्रो मान्छेको आवश्यकता भएर होला हजुरलाई हामीबाट टपक्कै टिपेर लगे । कति निर्दयी र निष्ठुरी बन्न सकेका होलान भगवान पनि ! आफू, परिवार र देशको लागि केही गरौं भन्ने उमेरमै आफ्नो साथ लिएर हामीलाई नाजवाफ बनाएर टपक्क टिपेर लिएर गएकाछन् दैवले । ज्वाईं हजुरले फेरी मृत्युवरण गर्नुपर्दैन, सबै जनाले एकपटक मृत्युवरण गर्नु नै पर्ने हो भन्ने कुरा ज्ञात हुँदाहुँदै पनि मन बुझाउन अति नै गाह्रो हुँदोरहेछ ।

अस्मिता दिदीले भनेझै एक हप्तापछि आउने जन्मदिनमा धेरै अघिदेखि कुन फोटो राख्ने होला भन्दै सोच्दै बसेका थियौं, हजुरको सुस्वास्थ्य र दीर्घायुको कामना त गरेकै थियौं । तर, दैव लागेपछि र भगवानले आफ्नो साथ लगेपछि केही लाग्दो रहेनछ । भगवानले पनि अक्षम्य गल्ती गरेझैं लाग्छ, संसार जितेको जस्तो भान हुन्थ्यो । तर, दैवलाई जित्न नसकिने रहेछ ।

आखिर दैव पनि कति साह्रो निष्ठुरी बन्न सक्दोरहेछ ! जिन्दगीभर दुःख र सघर्ष गरी प्राप्त गरेको हालको उपलब्धिको प्रतिफल पनि खान नपाइ लैजाँदा एक रत्ति पनि सोच्न पर्दोरहेनछ है दैव ! ज्वाई हजुरको आत्मालाई रुवाउने कार्य कदापी गर्नेछैनौं । हजुरले सोचेका र पूरा गर्न नसकेका सपनाहरु पुरा गर्नेछौं । ज्वाईं हजुरको आत्माले शान्ति पाओस् ।

ज्वाईंसायुज्य मुक्ति प्राप्त होस्, बैकुण्ठमा बास होस् ।
हार्दिक श्रद्धाञ्जली, अलबिदा ज्वाईं !

प्रतिक्रिया दिनुहोस्