NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

कोरोना परीक्षण नगराउँदा जोखिम बढ्दै

सिरहा । सिरहाको लहान नगरपालिकास्थित उत्तरी क्षेत्रका दलित बस्तीमा पछिल्लो दुई सातादेखि रुघाखोकी र ज्वरोको प्रकोप देखिएपनि बिरामी परीक्षण नगराइ गाउँमै बस्दा सङ्क्रमण थप फैलिने जोखिम बढेको छ । ज्वरो र रुघाखोकीले थलिए पनि स्वास्थ्य चौकीमा जचाँउन जाँदा कोरोना सङ्क्रमण हुन सक्ने त्रासले बिरामी गाउँमै बसिरहेको स्थानीयहरुले बताएका छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिले परीक्षण गरेर नतिजा नआउँदासम्म अलग रहन पटक पटक स्वास्थ्यकर्मीले आग्रह गर्दै आएपनि बिरामी जचाउँन स्वास्थ्य चौकी सम्म नआएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताए । सिरहा अस्पतालमा कोभिड १९ को निःशुल्क पिसिआर परीक्षण हुँदै आएपनि ग्रामिण भेगका सर्वसाधारण लक्षण देखिएपनि परिक्षण गराउन आनाकानी गरिरहेकाले सङ्क्रमणको जोखिम बढेको प्रमुख यादवको भनाइ छ । कोभिड १९ को दोस्रो लहर शुरु भएयता सिरहामा हालसम्म एन्टिजेन विधिबाट २७२ र पिसिआर विधिवाट २ हजा ९९७ जनाको मात्र परीक्षण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये नेगेटिभ रिपोर्ट आएका बाहेक सिरहामा ८६९ सक्रिय सङ्क्रमित छन् । कोभिड १९ को सङ्क्रमणबाट जिल्लाभर ३८ पुरुष र १८ महिला गरी ५६ जनाको मृत्यु भएको छ । पहिलो चरणमा सिरहामा २५ जनाको मृत्यु भएको थियो । हाल सिरहामा दैनिक ६० जना औसतमा सङ्क्रमित थपिने गरेको तथ्याङ्कले देखाएको छ । यसबाहेक जोखिम बढ्दा पनि भोज र मृत्यु संस्कारमा स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्बन नगर्ने, जवर्जस्ती हाट बजार लगाउन खोज्ने, कन्ट्याक्ट ट्रेसिङ्ग गरी पिसिआर परीक्षण गराउन नचाहने प्रवृतिले जोखिम झनै बढाउन सक्ने भएकाले स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरेर सिरहाका १७ मध्ये १० वटा स्थानीय तहले आफ्नै कोभिड १९ अस्पताल सञ्चालनमा ल्याएपनि अधिकांश सङ्क्रमतिहरु होम आइसोलेसनमै बसिरहेका छन् । लहान, गोलबजार, धनगढीमाई, मिर्चैया, कर्जन्हा, कल्याणपुर नगरपालिका र सखुवाननकारकट्टी, औरही, बरियारपट्टी र लक्ष्मीपुर पतारी गाउँपालिकाले आ–आफ्नै कोभिड १९ अस्पताल सञ्चालनमा ल्याएको जनाएको छ । जिल्लामा सरकारी र निजी गरी १५ वटा अस्पतालले कोभिड १९ सङ्क्रमितलाई उपचार सेवा दिँदै आएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए। जिल्ला प्रशासन सिरहाको पुरानो भवन कारागारका कैदीबन्दीहरु सङ्क्रमित भए उपचारको लागि आइसोलेसन बनाइएको छ । कोरोनाको दोस्रो लहरपछि जिल्ला प्रशासन कार्यालय सिरहाको पहलमा जिल्ला अस्पताल सिरहामा ५ शय्याको आईसियु, दुई भेन्टिलेटरसहित २६ शय्याको आइसोलेसन बनाइएको छ । सिरहा अस्पतालमा प्रदेश २ सरकारले थप दुई वटा भेन्टिलेटर र अक्सिजन प्लान्ट समेत जडान गरी सञ्चालन गरिएको छ ।