महामारीमै स्वास्थ्य मन्त्रालयमा तीन नेतृत्वः ढकाल फेल, त्रिपाठी जस्ट पास, तामाङको परीक्षा बाँकी ! - Nepal Watch Nepal Watch

कभर न्यूज

जेष्ठ २३, २०७८ आईतबार


महामारीमै स्वास्थ्य मन्त्रालयमा तीन नेतृत्वः ढकाल फेल, त्रिपाठी जस्ट पास, तामाङको परीक्षा बाँकी !


काठमाडौं । विश्वव्यापी काेराेना महामारीकाे चपेटामा नेपाल पनि अछुताे रहेन । काेराेना महामारी फैलिएर हजाराैं नागरिककाे ज्यान गइसक्याे । अर्थतन्त्र डामाडाेल अवस्थामा छ । सामान्य अक्सिजन र बेड नपाउँदा कैयाैं युवासहितका नागरिककाे ज्यान गइरहेकाे छ । तर याे जाेखिममा सबैभन्दा सक्रिय र जिम्मेवार बन्नुपर्ने स्वास्थ्य मन्त्रालयको नेतृत्व भने सबैभन्दा बढी अस्थिर देखिएकाे छ । साढे तीन वर्षमा स्वास्थ्य मन्त्रालयकाे नेतृत्वमा पाँच जना मन्त्री पुगिसकेका छन् । याे संकटमा धेरैका आँखा यही मन्त्रालयतिर छ । पटक–पटककाे नेतृत्व परिवर्तनले मन्त्रालय अस्थिर बन्दै गइरहेकाे छ ।

२०७६ मा कोरोना महामारीले नेपालमा प्रवेश गरेयता अहिले दोस्रो लहर चलिरहँदासम्म स्वास्थ्य मन्त्रालयको नेतृत्वमा तीन जना मन्त्रीहरु नियुक्त भएका छन् । सरकार बनेकाे साढे तीन वर्षकाे हिसाब गर्ने हाे भने मन्त्रीकाे संख्या पाँच पुग्छ ।

संक्रमणको सुरुवात भएदेखि स्वास्थ्य मन्त्रालयको कमाण्डमा क्रमशः भानुभक्त ढकाल, हृदयेश त्रिपाठीपछि हालैमात्र शेरबहादुर तामाङ्ग पुगेका छन् ।

महामारी नियन्त्रणमा जुट्नुपर्ने सरकार र नियन्त्रणमा अहम् भूमिका खेल्नुपर्ने स्वास्थ्य मन्त्रालयमै एक वर्ष नपुग्दै भइरहेको नेतृत्व परिवर्तनले मन्त्रालयभित्रको कार्य सम्पादनमा त असर गरेको छ नै, महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न असफल भएकाे छ ।

११ माघ २०७६ मा नेपालमा चीनको वुहान क्षेत्रबाट फर्किएका एक युवकमा कोरोना संक्रमण देखिएको थियो । त्यस बेला स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा भानुभक्त ढकाल थिए ।

४ मंसिर २०७६ मा गरिएको मन्त्रिमण्डल हेरफेर गठनअनुसार कानुनमन्त्री रहेका ढकाललाई स्वास्थ्य मन्त्रालय दिइएको थियो भने स्वास्थ्य मन्त्री रहेका उपेन्द्र यादवलाई कानुन मन्त्री दिइएको थियो ।

देशमा पहिलो कोरोना संक्रमण पुष्टि भएको ठीक एक महिनापछि दोस्रो संक्रमित पुष्टि हुँदा सरकारले उपयुक्त तयारी बिनै लकडाउनको घोषणा गरेको थियो ।

मन्त्री भानुभक्त ढकाल स्वयःले पत्रकार सम्मेलनमा देशमा दोस्रो कोरोना संक्रमण पुष्टि भएको र चैत ११ गतेबाट देशव्यापी रुपमा लकडाउन हुने घोषणा गरेका थिए ।

त्यसयता देशमा निरन्तर संक्रमण बढ्दै गयो । तर, स्वास्थ्य मन्त्रीको पद सम्हालेमा ढकालले भने, ‘कानमा तेल हालेको’ शैलीमा उभिएका थिए । विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारी घोषणा गरेपछि तयारीमा जुट्नुपर्ने बेला सिन्को नभाचेको मन्त्रालयको अकमर्णयताले पिसिआर परीक्षणसम्म नहुने अवस्था आएको थियो ।

संक्रमितको संख्यामा बृद्धि हुन थालेपछि सामान्यभन्दा सामान्य स्वास्थ्य सामग्रीमा पनि अभाव देखिन थाल्यो । चौतर्फी विरोधपछि केही तातेको मन्त्रालयले विभिन्न ठाउँमा पिसिआर परिक्षणको व्यवस्था गर्यो, ल्याब स्थापना गर्यो ।

तर, मन्त्रालयले दिनुपर्ने अभिव्यक्ति र मन्त्रीले देखाउनुपर्ने अभिभावकत्वमा भने मन्त्रालय पूर्ण रुपमा असफल भएको थियो । यति असफल कि नागरिकले सडकमा आएर पीसीआर परीक्षण बढाउन, आरडिटी परीक्षण बन्द गर्ने लगायतका कुरामा आवाज उठाउनु परेको थियो ।

एकातिर महामारी नियन्त्रणमा मन्त्रीको असफलत नेतृत्व त थियो नै, अर्कातिर मन्त्रालय नागरिकको स्वास्थ्यसँग खेलबाडबीच कमिसनको खेतीमा समेत तल्लिन देखियो । स्वास्थ्य मन्त्रालयको समन्वयमा स्वास्थ्य सेवा विभागले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनमार्फत स्वास्थ्य सामग्री खरिदमा निकै ठूलो मूल्यमा कमिसन राखेको थियो ।

स्वास्थ्य सामग्री खरिदको विषयमा छ्याप्छ्यापती प्रमाणहरु बाहिरिएपनि सरकारले भने ओम्नीलाई काखी च्याप्यो । यता आफ्नै मन्त्रालयमार्फत भएको खरिद प्रकरणमा आफ्नो संलग्नता नभएको भन्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले भने स्पष्टीकरण दिइरहेका थिए ।

स्वास्थ्य मन्त्रालयले गत वर्ष १० पुसमा भानुभक्त ढकालको असफल अभिभावकत्वबाट छुटकारा पाएको थियो । असफल यसकारण कि उनको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम, व्यवस्थापन तथा आगामी दिनको तयारीका लागि कागजी निर्देशनबाहेक केही पनि बनाउन सकेन ।

देशमा दोस्रो लहरको संक्रमण फैलिने खतरा बारे विज्ञहरुले उनकै कार्यकालमा पनि पटक पटक सुझाव दिदैं तयारीमा जुट्न भनेका थिए । तर, ढकाललको नेतृत्वले विभिन्न निर्देशिकाबाहेक केही पनि बनाउन सकेन् ।

पहिलो लहरमा दोस्रो लहरमा जस्तो स्वास्थ्य प्रणाली नै कोल्याप्स हुनुपर्ने अवस्था आएको थिएन् । अहिलेको संख्यामा संक्रमितलाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था थिएन् । महामारी भर्खर सुरुवात भएकाले आर्थिक रुपमा पनि संकटको अवस्था थिएन भने आवश्यक सामग्री खरिद गर्न पनि विश्व बजारमा अभाव सिर्जना भइसकेको थिएन् ।

देशमा भएका संरचनाहरुको प्रयोग समेत हुन सकेको थिएन । तर, अवसरहरु थुप्रै हुँदा पनि ढकालको अन्योलताका कारण यी कुनै पनि काम हुन सकेनन् । अन्योलतालाई चिर्न सक्ने क्षमता नहुँदा ढकालको नेतृत्वमाथि नै प्रश्न उठ्ने गरि उनको स्वास्थ्य मन्त्रालयको यात्रामा असफल भएको थियो ।

१० पुसबाट भने मन्त्रालयको नेतृत्वमा यसअघि संघिय तथा सामान्य प्रसाशन मन्त्रालयमा रहेका हृदयेश त्रिपाठी आए । जिम्मेवारी सम्हालेयता हृदयेशको सुरुवाती महिना ढकालको जस्तै महामारी नियन्त्रणको बेला ‘कानमा तेल हालेर’ बसेको जस्तै नै रह्यो । पुस १० त्रिपाठीको अभिभावकत्व पाएको मन्त्रालयले फागुनमध्यबाट भने सक्रियता देखाउन थालेको थियो ।

त्यत्ति बेला भारतमा निरन्तर नयाँ भेरियन्टका कोरोना संक्रमणका केसहरु पुष्टि भइरहेका थिए भने संक्रमणको ग्राफ निरन्तर उकालो लागिरहेको थियो । यसबीच मन्त्रालयले पटक पटकद भिडभाड कम गर्न, स्कुल, कलेज लगायतका शैक्षिक संस्था बन्द गर्न तथा निषेधाज्ञा गर्नका लागि मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

तर, मन्त्रालयको सिफारिसलाई लागू नगरेपछि अन्त्यमा अपिल गरेरै मन्त्रालयले सर्वसाधारणलाई कोरोनाको दोस्रो लहरबारे सचेत हुन र सुरक्षित हुन अनुरोध गर्यो । मन्त्रालयको निरन्तरको अनुरोध भए पनि निर्णय हुन नसक्दा कोभिडको आगामी दृश्य कस्तो हुने भन्ने अन्योलता थियो । यसैबीच स्थानीय सरकारहरुले निषेधाज्ञा लगाउन बाध्य भएका थिए ।

अर्कातिर, दोस्रो महामारी सुरुवात भएपछि बाँकेमा देखिएको संकटलाई भने मन्त्रालयले व्यवसाथपन गर्न सकेन । त्यसबाहेक देशका विभिन्न ठाउँमा अक्सिजनदेखि भेन्टिलेटरको अभावसमेत देखिएको थियो । अग्रिम तयारीको अभावमा थोरै समयलाई अक्सिजन अभावमै पनि बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भयो ।

केही सातासम्मको संकटलाई विस्तारै व्यवस्थापन गर्न त्रिपाठीको नेतृत्व केही सफल देखियो । दोस्रो लहर नियन्त्रणमा आइरहँदा उनले नेतृत्वबाट हटाइए । तर, उनकै नेतृत्वमा हुँदा अस्पतालमा अक्सिजन प्लान्टदेखि पूर्वाधारलाई समेत विस्तार गर्ने केही कामहरु भएका छन् ।

अर्कातिर, अनुदानकै भरमा भएपनि देशमा खोप अभियान सुरु भयो भने स्वास्थ्य मन्त्रालयकै समन्वयमा भारतबाट कोभिसिल्ड खोपको १० लाख डोज खरिद गरेर ल्याउन सरकार सफल भएको थियो ।

प्रधानमन्त्रीले दोस्रो पटक प्रतिनिधिसभा विघटनपछि विस्तार गरेको मन्त्रीपरिषद्मा परेमा शेरबहादुर तामाङले अहिले स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघि कानुनमन्त्रीको जिम्मेवारी सम्हालेका तामाङलाई आफूले जिम्मेवारी पाएको मन्त्रालयमा केही बोल्दा पनि नबोल्ने, कार्य सम्पादनमा तत्परता पनि नदेखाउने र विवादमा पनि आउन नचाहने मन्त्रीको रुपमा चिनिन्छ । कानुन मन्त्री रहँदा बंगलादेशमा छात्राहरूले सर्टिफिकेटकाे लागि शरिर सुम्पिनुपर्ने अभिव्यक्ती उनकाे सबैभन्दा विवादास्पद भनाइ हाे, जसकारण उनले मन्त्री पदबाटै २०७५ साउन ८ मा राजिनामा समेत दिएका थिए ।

ओली सरकारले गत पुसमा गरेको पहिलो प्रतिनिधिसभा विघटनपछि माधव समूहमा केही समय लागेर फेरि ओली समूहमै फर्किएका तामाङलाई स्वास्थ्य मन्त्रालय दिइएको छ ।

दोस्रो लहरको महामारी केही नियन्त्रणमा आउँदा स्वास्थ्य मन्त्रीमा नियुक्त भएका उनले आगामी दिनमा कस्तो रणनीति अपनाउँछन् भन्ने हेर्न बाँकी छ । उनका सामुन्ने अहिले मुख्य चुनौती महामारीको नियन्त्रणसँगै तेस्रो लहरको सामना गर्न तयार हुने र खोप अभियानलाई निरन्तरता दिने रहेको छ ।

महामारीबीच अघिल्ला मन्त्रीहरुले निर्माण गरिदिएको पूर्वाधारबीच उनलाई काम गर्न केही सहज हुने विज्ञहरुले बताएका छन् । तर, यस्तोमा पनि उनको नेतृत्व महामारी नियन्त्रणदेखि खोपको अभियानमा कति केन्द्रित हुन्छ भन्ने हेर्नै बाँकी छ ।

भानुभक्त फेल, त्रिपाठी जस्ट पास, शेरबहादुरको परिक्षा नै बाँकी

महामारी सुरु भएयता स्वास्थ्य मन्त्रालयको नेतृत्वमा बसेर काम गरिसकेका दुई मन्त्री भानुभक्त ढकाल र हृदयेश त्रिपाठीको कामको समिक्षा गर्दा ढकालको नेतृत्व पूर्ण रुपमा असफल भएको देखिन्छ भने त्रिपाठीले उनीसँगको तुलनात्मक रुमपा केही काम गरेर जस्ट पास भएका देखिन्छन् ।

स्वास्थ्य मन्त्रालय तथा प्रधानमन्त्रीले कोभिड संकटबारे छलफलका लागि बोलाउँदा विज्ञ स्वास्थ्य सल्लाहकारको रुपमा रहेका एक वरिष्ठ जनस्वास्थय विज्ञले यो विषयलाई राजनीतिक विषय भएको बताउँदै नामक नखुलाउने सर्तमा भने, ‘हाम्रो रणनीति र दीर्घकालिन तयारी सहि हुन्थ्यो भने नेतृत्वको फरक पार्ने कुरा त होइन् । तर, काम कति भयो भन्ने तुलना गर्ने हो भने भानुभक्त ढकालभन्दा त्रिपाठीले केही काम गर्न सक्नु भएको छ ।’

सरकारको दृष्टिकोण स्पष्ट हुने हो भने स्वास्थ्य मन्त्रालयमा आउने नेतृत्वले धेरै असर गर्दैनन् । मन्त्रालयमा मन्त्रीका रुपमा आउने पात्रहरुले केही भूमिका खेलेपनि मुल रुपमा मूल्याकंन हुनुपर्ने काममा मन्त्रालयको समन्वय हुन्छ । मुद्दाप्रति गर्ने निर्णयदेखि त्यसमाथि सरकारले देखाउने जिम्मेवारी केन्द्रमा रहेकाहरुको हुन्छ ।

मन्त्रालयका ती विज्ञ सल्लाहकारले भने, ‘महामारी सुरु हुँदा भानुभक्त ढकाल हुनुहुन्थ्यो । उहाँ गएपछि त्रिपाठी आउनु भयो । भानुभक्त जी गएपछि र त्रिपाठी जि आएपछि केही परिवर्तन भए । तर, यी परिवर्तनलाई पात्र फेरिएकै कारण भएको परिवर्तन हो वा होइन भन्न सकिदैंन् । यसमा मन्त्रालयका अन्तरिक पक्षहरुले पनि उत्तिकै प्रभाव पारेका हुनसक्छन् ।’

स्वास्थ्य मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका एक अधिकारीका अनुसार मन्त्रालयमा भानुभक्त ढकालको नेतृत्व रहँदा कर्मचारीहरुमै आन्तरिक किचलो थियो । ती अधिकारीले भने, ‘मन्त्रालयमा एकको कुरा अर्काले नसुन्ने, एक निकायको कुरा अर्काले नमान्ने अवस्था थियो । त्रिपाठी जी आउनुभएपछि त्यसमा सुधार हुँदा कतिपय कुराहरु कार्यान्वयनमा पनि सहजता भएको छ ।’

मन्त्रालयले सुधार्नुपर्ने कतिपय कमजोरीहरु हिजोजस्तै आज पनि यथावतै छन् । कमजोरीहरुको निरन्तरतालाई सुधार्न पात्रको मात्रै भूमिका पनि हुँदैन् । तर, मन्त्रालयमा भएको नेतृत्वले समन्वयको भूमिका निभाउन सकेमा ती कुराहरु सुधार हुनसक्ने देखिएकको ती अधिकारी बताउँछन् ।

उनी भन्छन्, ‘हाम्रोमा एक विभागको कुरा अर्कोले नमान्ने, एउटा महाशाखाको कुरा अर्कोले नमान्ने अवस्था छ । यस्तोमा भानुभक्त जि मन्त्री हुँदा उहाँले केही गर्न सक्नुभएन् । बरु थप समस्याहर उब्जिए । त्रिपाठी जि आएपछि केही काम भएका छन् । तर, उहाँले पनि समस्या समाधान गर्न सक्नु भएको छैन् ।’

केन्द्रीय तहमा समस्यालाइ सम्बोधन गर्ने दृष्टिकोण र प्रतिबद्दताको कमिले स्वास्थ्य मन्त्रालयले गर्ने निर्णयले मात्रै केही हुँदैन् । त्यसमाथि महामारीबीच सरकारले कोभिड संकटलाई व्यवस्थापन गर्न विभिन्न निकाय स्थापना गरेको छ । त्यसमध्ये सिसिएमसी पनि एक थियो ।

स्वास्थ्य मन्त्रालयले आफ्नो क्षमताअनुसारका क्रियाकलाप गरेपनि सरकारको केन्द्रीय तह, जसको मताहतमा स्वास्थ्य मन्त्रालय चलिरहेको हुन्छ, त्यहाँबाटै निर्णय हुननसक्दा मन्त्रालयको क्रियाकलापलाई वेवास्ता गरिएको देखिएको छ ।

मन्त्रालयका लागि विज्ञ स्वास्थ्य सल्लाहकार रहेका ती जनस्वास्थ्य विज्ञका अनुसार पात्रहरुको परिवर्तनलाई मुल्यांकन गर्दा भानुभक्त ढकाललको नेतृत्व क्षमता पूर्ण रुपमा असफल देखिएको थियो । उनी भन्छन्, ‘तुलनात्मक रुपमा हेर्दा त्रिपाठी जि आएपछि व्यवस्थापन थोरै मात्र भए पनि राम्रो भएको छ । उहाँलाई पहिलो लहरमा भएको अनुभवले पनि साथ दियो । तर, उहाँले पनि गर्नसक्ने सबै समस्या समाधान गर्नु भएन् ।’

प्रतिक्रिया दिनुहोस्