NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

राउटे घटनाका दोषीलाई कारवाही गर्न माग

काठमाडौं । अखिल नेपाल महिला संघले सुर्खेत जिल्लामा राउटे युवतीमाथि भएको यौन अपराधका घटनामा संलग्नलाई कारवाही गर्दै पीडितलाई न्याय दिलाउन सरकार सँग माग गरेको छ । संघका सहसंयोजक थममाया थापाले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाल अन्तरराष्ट्रिय मानवाधिकार र महिला अधिकारसम्बन्धी महासन्धिको पक्ष राष्ट्रसमेत भएकाले लोपोन्मुख समुदायको मानवाधिकारको रक्षा गर्नुपर्ने माग गरिएको छ । ‘यो समुदायका नागरिकहरुलाई सुरक्षित स्थानमा व्यवस्थित बसोबास गराई संरक्षण दिनसमेत नेपाल सरकारको सम्बन्धित निकायलाई अखिल नेपाल महिला संघ हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ । राउटे समुदायका युवतीलाई मदिरा खुवाएर होटेलमा भिडियो बनाउने होटेल सञ्चालकसहित तीन जनालाई सुर्खेत प्रहरीले पक्राउ गरिसकेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका होटल सञ्चालक विनोद पुनलाई शनिबार नै पक्राउ गरिएको थियो । होटेलमा तीन जना युवाले राउटे समुदायका युवतीहरूलाई लिएर आफू अर्धनग्न बनेर ‘अस्लिल’ बोल्दै बनाएको भिडिओ सामाजिक सञ्जालमा अपलोड भएपछि घटना सार्वजनिक भएको थियो ।