NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

गण्डकीमा नयाँ सरकार भोलि : प्रदेश प्रमुखले विपक्षीलाई भनिन्, ‘आवश्यक परे तपाईंहरुलाई आफैं बोलाउँछु’

काठमाडौं । गण्डकी प्रदेश सरकारले भाेलि नयाँ सरकार पाउने भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले सबै प्रक्रिया र विपक्षीले बुझाएको दाबी हेरेर भोलि निर्णय गर्ने बताएकी छन् । बहुमत सांसदको हस्ताक्षरसहित सरकरको दावी गर्न गएका विपक्षी गठबन्धनलाई आवश्यक परे भोलि आफैं बोलाउने प्रमुख पौडेलले बताएकी छन् । उनले संविधानअनुसार नै आफूले काम गर्ने भएकाले संविधानमा विश्वास गर्न आग्रह गरेकी छन् । कांग्रेस नेतृत्वको गठबन्धन बहुमत दाबी गर्दै प्रदेश प्रमुख कहाँ गएको थियो । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमत दाबी गरेर आउन दलहरूलाई आह्वान गरेपछि विपक्षीहरू प्रदेश प्रमुख कहाँ गएका हुन् । कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका २ (कृष्ण थापा बाहेक), जनता समाजवादीका २, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)को हस्ताक्षरसहित कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीमा दावी गरेका छन् । बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन असफल भएपछि प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेकी हुन् । ६० सदस्यीय गण्डकी प्रदेश सभाका २७ सांसदले उनलाई विश्वासको मत दिएका थिए । अविश्वासमा ३० मत परेको थियो । एक जना तटस्थ बसेका थिए भने दीपक मनाङे अनुपस्थित भएका थिए । यसअघि कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरेर गठबन्धनले अविश्वास प्रस्ताव समेत ल्याइएको थियो । २ वैशाखमा अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा पेश भएको थियो । तर, अविश्वास प्रस्तावमा मतदान हुन पाएन । १५ वैशाखको बैठकमा मतदान हुने कार्यसूची भए पनि जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठकलाई अनिश्चितकालका लागि स्थगित गरिदिएका थिए । दीपक मनाङेको समर्थनसँगै कृष्णचन्द्र नेपालीको पक्षमा स्पष्ट बहुमत पुगेको हो । आज हस्ताक्षरसहित ३१ वटै सांसद प्रदेशप्रमुखकहाँ उपस्थित भएका थिए ।