NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मशानघाटकाे डिनर !

कोरोनाले थलिएको म उपचारका लागि साइकलमा बसेर सिभिल अस्पतालतिर जाँदै थिएँ । ज्यान पूरै गलेको थियो । आँखा तिरमिर भइरहेका थिए । साथमा कोही नभएपछि आफैं साइकलमा सवार भएर अस्पतालतिर दौडिएँ । साँचिकै बिरामी पर्दा नै आफन्त र आफ्नाहरुको साथ खोजिने रहेछ । तर, विडम्बना ! मेरो साथमा कोही थिएन । लाग्यो, परिवारको अनुहार नै देख्न नै नपाइ यो भौतिक संसार छाडिने पो हो कि ! तर, आत्मबल बलियो भयो भने त केही हुँदैन होला नि । त्यसबेला काठमाडौंमा भएका साथीभाईलाई फोन गर्ने भेउ नै आएन । यस्तै–यस्तै सोँच्दै एकनासले साइकल हाँकिरहेको थिएँ । तिनकुनेको ओरालोमा गति यति तिव्र भयो कि हावाको झोँकाले आँखाबाट तरर आँशु नै बग्यो । पुलनिर पुग्दा सडक पनि राम्रोसँग देखिरहेको थिइन् । कतिबेला अस्पताल पुग्छु भन्ने मात्रै ध्यान थियो । अकस्मात बड्यांङ्ग आवाज सुनियो । एकैछिनपछि आफूलाई खोलामै पाएँ । मान्छेहरु झुम्मिएका थिए । म पनि किनारा हुँदै पुलमाथि के भएको रहेछ भनेर हेर्न आएँ । सबैको ध्यान पुलमुनि लत्रिएको लाशमाथि थियो । यसो ध्यान दिएँर हेर्दा आफ्नै लाश रहेछ । म अचम्ममा परेँ । म त पुलमाथि सबैको छेउमा उभिएको छु । तर, कसरी मेरो लाश त्यहाँ ! एकछिन अघिको घटना याद गर्ने कोशिस गरेँ । तिव्र गतिमा अगाडि बढिरहेको मँ अगाडिबाट आएको एम्बुलेन्सतिर नजर नै लाउन पाइनछु । एम्बुलेन्सको ठक्करले साइकलसहित म खोलामा परेँ । त्यही मेरो परान गयो । म त मरिसकेको रहेछु । यो कसरी सम्भव हुनसक्छ । पत्यार नै लागेन । किनकी म त पुलमाथि जम्मा भएका मानिसहरुको भीडमा थिएँ । फेरि पुलमुनि मेरो शव ! ओहो न कस्तो क्षतविक्षत भएछ शरीर–भीडबाट कोही भन्दै थिए । नजिक गएर म त जिउँदै छु भन्ने कोशिस गरिरहेको थिएँ । तर, कसैले मेरो आवाज नै सुनेन् । एकै छिनपछि प्रहरीहरु आए र मेरो शवलाई लिएर अस्पतालतिर दौडिए । म पनि पछिपछि गएँ । अस्पताल पुग्नेबित्तिकै चिकित्सकले भने, ‘अघि नै प्राण गइसकेकाे रहेछ । ‘वी आर सरी । हामी केही गर्न सक्दैनौं । प्रक्रिया पूरा गरेर परिवारका मानिसलाई खबर गरिदिनुहोस् ।’ एकदिनसम्म अस्पतालमै रह्यो मेरो शरीर । म छेउमा बसेर आफ्नै प्रतिमूर्ति एकनासले हेरिरहेँ । सोँच्नै सकिन यो कसरी भयो । कति सपनाहरु थिए । केही पूरा गर्नै नपाइ कलिलैमा मर्न पुगेछु । अलिकति हतार नगरेको भए आज मेरो क्षतविक्षत भएको शरीर यस पोस्टमार्टम घरमा हुने थिएन । या त साथीहरुलाई फोन गरेको भए पनि हुने रहेछ । कम्सेकम एम्बुलेन्स बोलाएर अस्पतालसम्म त लैजाँदा हुन् । भोलिपल्ट जिल्लाका केही अग्रजहरुले हेलिकप्टरको सहायताले मेरो शव घरसम्म पुर्याए । म भने शवको पछिपछि ! निकै पछुतो लाग्यो केही गरौंला भन्ने उमेरमै मर्नुपरेकोमा । परिवारका सदस्यहरु रुँदै मेरो शवतिर हेरिरहेका थिए । आमाको त्यो रुवाई अनि बुबाको मौनताले मन निकै पोल्यो । यो के भयो । केही वर्षअघि मात्रै बुवाले आफ्नो आड भरोसा गुमाउनुभएको थियो । ठूलो छोरा गुमाएको २० दिन नपुग्दै अर्की बुहारी पनि गुमाउनुभयो । एकै महिनामा अप्रत्याशित रुपमा परिवारका दुई सदस्यको मृत्युले परिवारमा कस्तो माहोल बन्छ । त्यो म राम्रोसँग महशुस गर्न सक्छु । बुवाको आँखामा अत्यासलाग्दो पीडा थियो । आँखाले भनिरहेका थिए, ‘मेरो शवलाई काँध हाल्नुपर्ने मेरा खम्बाहरु यसरी एकाएक ढलिरहेका छन् । म बुढोलाई यति पीडा किन । आखिर मैले के अपराध गरेको थिएँ र मलाई यति पीडा दिन्छस् हे दैव !’ गाउँका सबै मानिसहरु आएका थिए । सँगै खेलेका साथीभाईहरुको आँखामा छल्किएको आँशु देखेर साच्चिकै म भक्कानिएँ । नजिकै गएर भन्न मन थियो म यहीँ छु । तर, म त आत्मा न थिएँ । कसले पो सुन्न देख्न सक्छ र ? मशानघाटसम्म सबै आएका थिए । तर, कतै न कतै कसैको अभाव पनि देखेँ । यताउता हेरेँ सबैको माझमा उसलाई निकै खोजेँ । तर, कतै भेटिनँ । पछि सम्झिँए, उसले छाडेर गएको त एक वर्ष बढी भइसकेको थियो । अब त उनी अरु कसैको काखमा रमाउँदै होलिन् । मेरो मृत्यु शोकमा आउन उनलाई के चासो र ? चितामाथि शव जलिरहेको थियो । म नदी किनारमा एकटकले हेरिरहेको थिएँ । त्यो त्यही मशानघाट हो जहाँ तीन वर्षअघि २० दिनको अन्तरालमा मेरा परिवारका दुई सदस्यको मुखमा म आफ्नै हातले आगो दिइरहेको थिएँ । करिब करिब आधा जति जलिसक्दा भाइको फोनको घण्टी बज्यो । रुँदै भाइले उत्तर दिइरहेको थियो, ‘अब सबै खत्तम भयो । किन फोन गरेको ? सायद तपाईं भएको भए आज यस्तो हुँदैनथ्यो ।’ नजिकै गएर सुनेँ फोन उसैकाे थियो । जसलाई केही समयअघि मेरा नयनले खोजी गरिरहेका थिए । उताबाट उनले सोधिरहेकी थिइन्, ‘कसरी यस्तो भयो, मलाई किन खबर नगरेको ? अन्तिमपटक मुहार हेर्ने पनि नसिव भएन मलाई ।’ पहिले त भाइले निकै झोक्किएर बोलिरहेको थियो । तर, पछि उसले सम्झाउँदै भन्यो, ‘अब भइसकेको कुरा कसरी फिर्ता हुन्छ र ? तपाईं आफ्नो जीन्दगी खुसीले जिउनुहोस् । यही फोनको कारण तपाईंको जिन्दगीमा अरु कसैले प्रश्न नउठाउन् ?’ चितामाथि शव जलिरहेको थियो । म नदी किनारमा एकटकले हेरिरहेको थिएँ । त्यो त्यही मशानघाट हो तीन वर्षअघि २० दिनको अन्तरालमा मेरा परिवारका दुई सदस्यको मुखमा म आफ्नै हातले आगो दिइरहेको थिएँ । फोन काटियो । अनि मलाई पनि सम्झना आयो, बिरामी हुँदा उसलाई फोन गर्ने मन त नभएको कहाँ हो र ? तर, सम्झेँ मेरो एक कल फोनले बनिरहेको उसकाे जिन्दगी बर्बाद भयो भने त्यो जतिको आत्मग्लानी मलाई अरु केही हुँदैन । करिब करिब साँझ ७ बजेतिर सबै प्रक्रिया सकिएपछि गाउँले परिवारका आफन्त सबै घर गए । म भने जलिसकेर कालो भएको चिताको किनारा हेर्दै छेउबाट निहालिरहेँ । एकैछिनपछि तीनजना भीमकाय शरीर भएका मानिसहरु आए । हेर्दै डरलाग्दा थिए । ‘अब सबै सकियो, अमर को नै छ र ? जन्मेपछि एकपटक त मर्नेपर्छ नि । बस फरक यति हो कोही छिटो कोही ढिलो । सबै मायाँमोहबाट मुक्त भयौं । अब पिर गरेर केही हुँदैन । तीन दिनजति यही मशान छेउमा बस्नुपर्छ । त्यसपछि मात्रै तिम्रो मुक्तिको लागि हामी लैजान्छौं’, उनीहरु भन्दै थिए । मैले त सुनेको थिएँ, प्राण जानेबेलै यमराजका दूतहरु आउँछन् र त्यसबेलै लैजान्छन् । तर, तीन दिनजति त आत्मालाई मशानछेउमै राख्नेरहेछन् । किन ? भनेर मैले प्रश्न गरेँ । एउटाले भन्यो, ‘यो तीन दिन तिम्रा सबै पितृहरु आउँछन्, सबैसँग भेटघाट हुन्छ । अनि मात्रै यमराजकहाँ लैजाने हो ?’ मनले केही शान्ति पायो, मरिसकेपछि कोहीसँग त वातचित गर्न पाइने रहेछ । साँझ झमक्क पर्दैथियो । उनीहरुले मशानछेउको एउटा गुफामा लगे । त्यहाँ लस्करैछेउ मेरो पितृ र गाउँका मानिसहरु गोलाकारमा बसिरहेका थिए । जो पहिले मृत्युवरण गरेका थिए । सबैका मुहारमा मुस्कान थियो । मलाई बधाई दिँदै थिए, नशवर शरीरबाट मुक्त भएकोमा । मेरो मुहार भने निकै मलीन थियो । मर्नुअघि श–शरीर बा–आमा भेट्न पाएको थिएनँ । जसलाई अन्तिम पटक केही कुरा भन्नुथियो उसलाई पनि केही भन्नै नपाई शरीर छाड्नुपरेकोमा निकै पछुताे भयाे । जिउँदो छन्छेल त यादले कहिले निदाइन तर मरिसकेपछि पनि यादले सताउन छाडेन । भेटेर अंगालो हालेर भन्न मन थियो, ‘साँच्चीकै अर्को जुनी पाएँ भने पनि त्यसरी नै लड्दै जिन्दगी बिताउँला । यो जीन्दगी त यस्तै भयो अर्को जुनी छाडेर नजानु है ।’ छेउमै बसेकी बुढी बज्यैले इसारा गर्दै भन्नुभयो, ‘हामी अगाडि आयौं, तेरो दाइ पनि भेट्न आउँदैछ । म तेरी बज्यै, अनि उहाँ चाँही तेरो बाजे ।’ म मात्र होइन, हाम्रा भाइहरु कसैले पनि बाजे–बज्यै देख्न पाएनौं । हामी जन्मिनुअघि नै उहाँहरु परमधाम भइसक्नुभएको थियो । कुराकानी हुँदै थियो, गुफाको एक कुनाबाट धुँवा पुत्ताइरहेको थियो । यसो नियालेर हेर्दा ठूला–ठूला डेक्चीहरुमा अनेक किसिमका पकवानहरु पाक्दै थिए । ‘माथि पुगेपछि खान पाइँदैन । तीन दिनसम्म जति खाने हो यहीँ खानुपर्छ रे’ कोही भन्दै थियो । मरेपछि पनि खाना ? मैले अचम्मित हुँदै सोधेँ । बज्यैले भन्नुभयो, ‘हो त बाबु । माथि पुगेपछि पाप धर्मको हिसाब नहुँदासम्म केही पनि खान पाइँदैन । सबै हिसाब सकिएपछि नै माथि नै बस्ने कि अर्को जुनी लिने भन्ने छनोट गर्न दिइन्छ ।’ तपाइँहरु चाहि किन अर्को जुनी नलिनुभएको त ? मैले सोधेँ । बज्यैले भन्नुभयो, ‘यो नशवर शरीरको मायाँ किन गर्नु त ? एकपटक बाँचिएकै हो । अब त यही आत्मास्वरुपमै ठिक छ । यसमा जति परमानन्द त्यो नशवर शरीरमा के छ र ?’ बिरामी भएको तीन दिनसम्म केही पनि खाएको थिइन । भोक पनि लागिरहेको थियो । अनेक किसिमका पकवान मेरो अगाडि आए । खाना खाने सुर गर्दै गर्दा दाई पनि आउनुभयो । जो तीन वर्षअघि नै भौतिक संसारबाट बिदा हुनुभएको थियो । दाईलाई भेट्नेबित्तिकै अंगालो हालेर खुबै रोएँ । उहाँले सम्झाउनुभयो, ‘यो शरीर हुँदासम्म मात्रै हो मायाँ मोह, सबै एकदिन मरेरै जाने हुन् । बस हामी अलिक अगाडि आयौं । केही छैन । विस्तारै आदत बस्छ । बचेकाहरु पनि एकदिन मरेरै आउने हुन् ।’ खान खान सुरु भयो । उहाँहरुले पनि माथि गएदेखि केही खानु भएको रहेनछ । हामीसँग बसेर कुराकानी गर्दैै खाना खायौं । ‘कति वर्षपछि खाना खान पाइयो । अब अर्को को आफन्त बित्छ र यसरी पेटभरी खाना खान पाइन्छ’, बीचमा बसेको एउटाले भन्दै थियो । जति सम्झाए पनि मेरो मन भने कत्ति शान्त थिएन । कति मान्छेहरु भेट्नुथियो, कतिसँग मनका कुराहरु साझेदारी गर्नुथियो । कतिसँग के के बाचा गरिएको थियो त्यो सबै पूरा गर्नुथियो । आँखाबाट बलिन्द्र धारा बगिरहेका थिए । एक छेउमा बसेर निकै रोएँ । शरीर पूरै आँशुले भिजिरहेको थियो । शरीर अटसमटस भइरहेको थियो । तीन दिन त्यसरी नै चल्यो । पछि यमराजको एउटा वाहन आयो । यति झकिझकाउ थियो कि पृथ्वीमा कुनै राजा महाराजा या अर्बपतिहरुको पनि त्यति आलिशान वाहन थिएन । वाहनमा बसै यमपूरीतिर गइरहेका थियौं । तर, मलाई कत्ति चित्त बुझेको थिएन । मन निकै अशान्त थियो । बाटैमा छुटेका मान्छेहरु भेट्नुथियो । कम्तिमा पनि अन्तिम बिदाइ त गर्नु नै थियो । तीन दिनसम्म शरीरमा रहेको म आत्मामा परिणत भइसकेको थिएँ । तर, पनि आफ्ना भनिएकाहरुलाई भेट्ने अत्यास कत्ति पनि मेटिएको थिएन । वाहन छेउमा गएर पृथ्वीतिर हेरेँ । सेतो बादलमाथि उडिरहेको थियो वाहन । एकछिन त सोचेँ । हाम फाले भने नराम्रोसँग पृथ्वीमा बजारिन्छु होला । पछि याद आयो मेरो शरीर त कहाँ बाँकी रह्यो र ? आत्मा त कहाँ बजारिने हो र ? सबैको नजर मैतिर थियो । आँखा बन्द गरेँ, उनीहरुको हेराइलाई वेवास्ता गर्दै जहाजको छेउबाट हाम फालेँ ! त्यतिकैमा माेबाइलको घन्टी बज्याे । फोन उठाएँ, ‘अरे यार फाे नै नउठाउने । कुन कुनामा फालेकाे थिइस र ?’