NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

निवर्तमान मुख्यमन्त्री गुरुङले भने, ‘अरूले दावी गर्नेबित्तिकै सडकमा जात्रा गरिहाल्नुपर्ने, यो कस्तो लोकतन्त्र हो ?’

काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीका लागि शनिबार विपक्षी गठबन्धनले गरेको धर्नालाई निरंकुशताको संज्ञा दिएका छन् । आज बिहान पत्रकार सम्मेलन गर्दै उनले आफूले दावी गरेपछि अरु कसैले दावी गर्नै हुँदैन भन्ने निरंकुशतावादी चरित्र विपक्षीहरुमा हावी भएको टिप्पणी गरेका छन् । उनले सडकबाट प्रधानमन्त्री र मुख्यमन्त्रीहरु चुनिने भए निर्वाचन, संविधान किन आवश्यक पर्यो र ? भन्दै प्रश्न पनि गरेका छन् । ‘यो कस्तो संस्कार हो । आफूले दावी गरेपछि अरु कोही नउभिउन् भन्ने ? केन्द्र होस् या प्रदेश सत्तापक्षले दावी गर्नेबित्तिकै सडकबाट पद मागिहाल्ने ? संविधान छ, विधि छ त्यसमा त विश्वास हुनुपर्छ नि ?’, उनले भनेका छन् । उनले आफू विधि र प्रक्रियामा हुँदा हुँदै पनि सडकबाटै हतारमा मन्त्री बनाउन दवाव दिइएको आरोप लगाए । ‘म मात्रै होइन, हरेक सांसदलाई दावी गर्ने अधिकार छ । सोही अनुसार २७ सदस्यको हस्ताइक्षरसहित मैले पनि दावी गरेको हुँ । यो त प्रक्रिया मात्रै त थियो । तर, पनि मुख्यमन्त्री बन्न हतारिएकाहरुले सडकबाटै पद माग्न थाले । कस्तो लोकतन्त्र हो ? गठबन्धनमा निरंकुशता हावी भएको देखिन्छ’, गुरुङले आक्रोश पोखे । विपक्षीलाई पनि आफ्नो बहुमत नभएको जानकारी नहुँदा पनि विधि र प्रक्रियाको विश्वास नगरी सडकबाटै मुख्यमन्त्री मागेको आरोप लगाए । ‘आखिर छिनोफानो गर्ने त प्रदेश प्रमुखले हो नि । अलिक समय कुरेको भए के जान्थ्यो । कति हतार हो सत्ता सम्हाल्न । अरुको दावी हुनेबित्तिकै सडकमा गएर जात्रा देखाइहाल्नुपर्ने ? सबै लोकतान्त्रिक पद्दतिमा हुँदा हुँदै पनि निरंकुशता लाद्न खोजियो’, गुरुङले गुनासो गरे । उनले विपक्षी गठबन्धनको सरकार पनि धेरै लामो समय नटिक्ने दावी गरे । सत्ता र कुर्सीका लागि मात्रै एक भएकाहरु पद नमिल्नेबित्तिकै फुटतर्फ गइहाल्ने गुरुङको दावी छ । ‘न विचार, न सिद्धान्त । हिजो एक अर्कालाई बहिस्कार गर्दै हिँड्नेहरु आज सत्ता र कुर्सीका लागि एक ठाउँमा आएका छन् । म कामना गर्दछु, उहाँहरुको सरकार सफल होस् । तर, कतै पनि स्वार्थ सिद्धिका लागि एक भएकाहरु लामो समय मिलेको देखिएको छैन । भोली कुर्सीमा तलमाथि हुनेबित्तिकै बिग्रह भइहाल्छ’, उनले भने । रचनात्मक रुपमा आफू प्रतिपक्षमा बसेर सहयोग गर्ने बताउँदै गुरुङले अब पार्टी राजनीतिमा सक्रिय हुने बताए । अब पार्टीभित्र देखिएको समस्या समाधानका लागि आफ्नो भूमिका रहने र पार्टीका बैठकहरुमा सहभागी हुने उनको भनाइ छ । साथै नेकपाभित्र देखिएको बिग्रहका कारण बहुमत हुँदा हुँदै पनि अर्काको हातमा सत्ता सुम्पिनु दुःखद भएको उनले टिप्पणी गरे । ‘केही प्रवृत्ति अध्यक्षमा पनि गलत होलान् । तर, आफ्नो पार्टीभित्रको समस्याका कारण सत्ता नै अरुलाई सुम्पिनु कत्तिको जायज हो । सबै पार्टीभित्र विवाद छन् । तर, हाम्रोजस्तो अरुलाई सत्ता सुम्पिँदै हिँड्ने निर्लज्ज नेतृत्वहरु अन्त छैनन्’, उनले भने ।