फास्ट ट्रयाकमा सुरुङ निर्माणका लागि सर्वेक्षण - Nepal Watch Nepal Watch

अर्थ / वाणिज्य

जेष्ठ २६, २०७८ बुधबार


फास्ट ट्रयाकमा सुरुङ निर्माणका लागि सर्वेक्षण


काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) मा सुरुङ निर्माणको जिम्मा पाएका चिनियाँ कम्पनीले सर्भेको काम थालेका छन् । कम्पनीका प्राविधिक टोली सर्वेक्षणका लागि एक सातादेखि सुरुङ निर्माणस्थलमा खटिएको नेपाली सेनाले जनाएको छ ।

दुई वटा निर्माण कम्पनीका सात जनाको प्राविधिक टोली आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर फिल्डमा खटिएको छ । गत वैशाख ३१ मा प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको निर्देशनविपरीत सेनाले दुई वटा चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । पहिलो प्याकेजमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र दोस्रो प्याकेजमा पोली चङ्दा इन्जिनियरिङ कर्पोरेसन कम्पनीसँग ठेक्का सम्झौता भएको हो । दुवै प्याकेजमा तीन वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भइसकेको सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए । यसमा डिजाइजनका लागि ६ महिनाको समय दिइएको छ ।

‘ठेक्का लिने कम्पनीले निर्माण गर्ने ठाउँ थाहा पाउनुपर्‍यो,’ उनले भने, ‘त्यसैले अनौपचारिक रूपमा सर्भे गर्न प्राविधिक टोली फिल्डमा गएको हो ।’ मोभिलाइजेसन रकम भने निर्माण कम्पनीलाई दिइसकिएको छैन । ‘त्यसका लागि कम्पनीले बैंक ग्यारेन्टी ल्याउनुपर्छ,’ उनले भने, ‘रकम दिएपछि निर्माण सुरु हुनेछ ।’ पहिलो प्याकेजमा चाइना स्टेटले छोक्रेडाँडादेखि धेद्रेसम्म ३ दशमलव ३५५ किमि सुरुङ निर्माण गर्नुपर्नेछ । यसको ठेक्का रकम २१ अर्ब ६१ करोड रुपैयाँ छ । कान्तिपुर दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्