NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सुदूरपश्चिममा एमालेको सरकार बनाउने तयारी, सभामुख थापालाई मुख्यमन्त्रीका रुपमा अघि सारिँदै

काठमाडौं । सुदूरपश्चिममा केही दिनअघि नै माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेको नेकपा एमालेले आफ्नै नेतृत्वको सरकार बनाउने तयारी थालेको छ । सुदूरपश्चिमका एमाले सांसदहरु आफ्नो सरकार बनाउने तयारीका लागि छलफलमा जुटेका छन् । प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई राजीनामा गर्न लगाउने र उनलाई नै मुख्यमन्त्रीका रुपमा अघि सार्नेगरी केपी शर्मा ओली र माधव नेपाल पक्षका सांसदहरुले तयारी गरेका छन् । सुदुरपश्चिम प्रदेशसभाका ५२ जना सांसदमध्ये एमालेका सभामुखसहित २५ जना छन् । सभामुखले राजीनामा दिएर आउँदा एमालेलाई बहुमतका लागि दुई सिट मात्रै अपुग हुन्छ । सभामुख माधव नेपाल पक्षका हुन् । सभामुख बाहेकका २४ जनामध्ये ओली पक्षमा ७ जना र नेपाल पक्षमा १७ जना छन् । अहिले प्रदेशमा माओवादी केन्द्रका १३ , नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् । यसअघि विश्वासको मतदानमा जसपाका दुई सांसदले विपक्षमा मतदान गरेका थिए । एमाले एक भएको स्थितिमा जसपाले साथ दिए सरकार गठनका लागि स्पष्ट बहुमत पुग्नेछ । आइतबार प्रदेश एक र बागमतीको एमाले नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई एमालेको दुबै पक्ष एकमत भएर पारित गरेका थिए । तर, सुदूरपश्चिम प्रदेशमा आइतबार ओली पक्षका प्रदेशसभा सदस्यहरूले विरोध जनाएका थिए । अन्य प्रदेशमा एमालेको दुई पक्षबीच एकता देखिन थालेपछि सुदूरपश्चिम प्रदेशमा पनि एकताको लागि आन्तरिक छलफल सुरु भएको हाे ।

ताजा अपडेट

नेपालवाच विशेष