NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

वृद्ध भत्ताको ५० लाख चोरी भएपछि मन्त्रालयबाट छानबिन सुरु

काठमाडौं । वृद्ध भत्ताको ५० लाख रुपैयाँ चोरी प्रकरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छानबिन थालेको छ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट गत चैत २४ मा चोरी भएको थियो । घटनाबारे लामो समयसम्म जानकारी नदिई स्थानीय तहमै मिलाउन खोजेपछि मन्त्रालयले टोली नै पठाएर छानबिन सुरु गरेको हो । गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङका अनुसार गत चैत २४ गते बैंकबाट झिकेर वडा कार्यालयको दराजमा राखेको सामाजिक सुरक्षा भत्ताबापतको ५० लाख र कार्यालयमा रहेको थप ३ लाख ५३ हजार चोरी भएको थियो । बैंकबाट ल्याएको भोलिपल्ट भत्ता वितरण गर्न खोज्दा दराजमा रकम थिएन । ‘सीसीटीभीबाट पनि चोर पत्ता लाग्न सकेन । हामीले प्रहरीमा उजुरी गरेर अनुसन्धान सुरु गरे पनि अझै परिणाम देखिएको छैन,’ उनले भने । सरकारी रकम वडा सचिव सरिता रावतको नाममा जम्मा गरेको, भत्ता वितरण बैंकबाट गर्नुपर्ने प्रावधानलाई बेवास्ता गरेको, एकपटकमा १० लाखभन्दा बढी रकम बैंकबाट झिक्न नपाइने भए पनि प्रशासकीय अधिकृत आफैंले पटक–पटक नियम उल्लंघन गरेको, घटनाको जानकारी नदिएको लगायतका गल्ती र असावधानीका कारण प्रशासकीय अधिकृतलाई निलम्बन गरेर मन्त्रालयले अनुसन्धान थालेको हो । पञ्चकन्यामा प्रशासकीय अधिकृत नरेश पुडासैनी चार वर्षभन्दा बढी समयदेखि कार्यरत छन् । उनले कहिल्यै सरुवा नमागेको मन्त्रालय स्रोतको दाबी छ । घटनाका विषयमा उनले दिएको स्पष्टीकरण चित्त नबुझेपछि मन्त्रालयले थप छानबिन थालेको हो । दराजमा कुनै पनि क्षति नपुर्‍याई रकम गायब भएकाले कार्यालयको सबै सूचना थाहा पाउने व्यक्तिले चोरेको शंका छ । मन्त्रालयको सचिवस्तरीय निर्णयबाट गठित उपसचिव मदन कोइराला र लेखा अधिकृत उमेश्वर काफ्लेको छानबिन टोलीले सोमबार उक्त वडा कार्यालय पुगेर कागजपत्र संकलन गरेको छ । घटनाको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले पनि अनुसन्धान गरिरहेको छ । प्रहरीले घटना छानबिनका क्रममा जनप्रतिनिधि र कर्मचारीको निगरानी गरिरहेको छ । कान्तिपुरमा खबर ।