NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मेलम्चीमा बाढी ! तीन जना बेपत्ता, सेनाका जवानहरु समेत सम्पर्क विहिन

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नदीमा ठूलो बाढी आएको छ । बाढीले केही मानिसहरुलाई बगाएको हेलम्बु गाउँपालिका वडा नं ४ का वडाध्यक्ष राजकुमार लामिछानेले नेपालवाचलाई बताए । उनले क्षतिको विवरण एकिन नभएको र उद्धारको काम समेत हुन नसकेको बताएका छन् । ‘बाढी एकदमै ठूलो छ, मेलम्ची खानेपानी आयोजनाको सुरक्षामा खटिएका सेनाका केही जवानहरु नै सम्पर्क विहिन बनेको खबर आएका छन्, उनले नेपालवाचसँग भने, कयौँ धनजनको क्षति भएको छ तर एकिन विवरण प्राप्त हुन सकेको छैन ।’ पिउल बगरको भण्डारी रिर्सोट भन्ने ठाउँबाट मात्र एक महिला सहित तीन जनालाई बाढीले बगाएको छ । मेलम्ची खानेपानी मुहानभन्दा माथि मेलम्ची घ्याङ भन्दा तल आज साँझ पहिरो गएर केहीबेर नदी थुनिएको र थुनिएको नदी फुटेसँगै ठूलो बाढीमा परिणत भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । उनका अनुसार नदी आसपासका केही बस्ती तथा कृषिफार्महरु बगाएको छ । सुरुङको ड्यामभन्दा माथि मेलम्ची घ्याङभन्दा तल अहिले पनि ठूलो पहिरो चलिरहेको छ । अहिलेसम्म कम्तिमा तीन जना मानिसहरु बगेका छन् । नदीको तल्लो भागका धेरै बस्ती र घरटहरा बगेका छन् । आयोजना स्थलमा संरचनाहरु सबै बगाएको छ । बाढीबाट चनौटे, ग्याल्पुङ र मेलम्चीको रिभर साइडका धेरै घरहरु बगेका छन् ।