NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

मेलम्ची अपडेट : कम्तिमा ५० जना बेपत्ता भएकाे आशंका, किनाराका बस्ती बगायो

काठमाडौं । मंगलबार राति सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति भएको छ । बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ। बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त बाढीमा परि कम्तिमा पनि ५० जना बेपत्ता भएको स्थानीयले बताएका छन् । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन् । उनले यो प्राकृतिक विपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहतमा जुट्न अपील गरेका छन् । ‘सरकारले आजै टेण्ट र खाध्यान्न जुन–जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं । स्थानीय जनतामा जसको घर बगाएको छ उहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्दछु । अन्तराष्ट्रिय समुदायलाई यो विपत्तिमा साथ दिन अपिल गर्दछु’, उनले भनेका छन् । जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकको जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा अक्स्मात जलसतह बढेर खतराको तह पार गरेकाले तटीय क्षेत्रहरूमा अर्को सूचना जारी नभएसम्मका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको र स्थानीय जुटेका छन् । यस्तै सभामुख अग्निप्रसाद सापकाेटाले पनि याे विपदमा सहयाेगका लागि सबै जुट्न अपील गरेका छन् । उनले ठूलाे धनजनकाे क्षति भएकाे भन्दै सबैकाे सहयाेगकाे खाँचाे रहेकाे सामाजिक सञ्जालमार्फत अनुराेध गरेका हुन् ।